कोरोना महामारीले सबै क्षेत्र ठप्प रहेको अवस्थामा धार्मिक क्षेत्र पनि यसबाट अछुतो हुन सकेन । देशकै सर्वाधिक पर्यटक आउने धार्मिक पशुपतिनाथ विगत दश महिनादेखि बन्द नै रह्यो ।
गत वर्षको चैत महिनाको ११ गतेदेखि सरकारले बन्दाबन्दीको घोषणा गरेसँगै पशुपतिनाथमा दर्शनार्थीहरुलाई दर्शनमा रोक लगार्र्ईएको थियो । त्यस दिनदेखि बन्द रहेको पशुपतिनाथको मन्दिर यही पुस १ गतेदेखि सर्वसाधारणका लागि खुल्यो । दश महिनादेखि बन्द रहेकोे मन्दिर खुलेसँगै पछिल्लो समयमा दर्शन गर्नका लागि दर्शनार्थीको घुईचो बढेको छ । सुरुका दिनहरुमा आठ देखि दश हजारसम्म भक्तजनहरुले दर्शन गरे पनि अहिले आएर यो संख्या बढेको हो ।
पशुपति क्षेत्रको विकास र संवर्धनका लागि स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले घामछायाँसँगै कुरा गर्दै विदाको दिनमा र सोमबार धेरै दर्शनार्थीहरु आउने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “विशेषगरी सार्वजनिक विदा भएको दिन शनिबार र शिवजीको पूजाको लागि उत्तम मानिएको बार सोमबारको दिनमा भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ”। यी दिनमा मात्रै ६० देखि ६५ हजारले दर्शन गरेको पाईएको छ ।
अहिले दिनमा कम्तीमा पनि ४० देखि ५० हजारको हाराहारीमा दर्शनार्थीहरुको आगमन भएको निर्देशक डा.खतिवडा बताउनु हुन्छ । यसरी मंिन्दर खुलेदेखि नै आजसम्म औसतमा दैनिक ३० देखि ४५ हजारको हाराहारीमा भक्तजनले दर्शन गरेको जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो राजनीतिक घटना क्रमले पनि यो आँकडालाई ह्वात्तै बढाईदिएको उहाँको बुझाई रहेको छ । प्रतिनिधिसभाको विघटन पछि काठमाडौंमा शक्ति प्रर्दशनको होडबाजी नै चलेको छ । जसका कारण बाहिरका जनतालाई काठमाडौंमा ल्याएरु राख्ने र उनीहरुले पनि पशुपतिनाथको दर्शन गरेर जाने भएको ले यो आँकडा बढेको हो ।
कोरोनाभन्दा अगाडी गणनाको प्रणली नभएको र मन्दिरमा चढेको भेटीको आधारमा मात्रै आएका दर्शनार्थीका संख्या राख्ने हुदा त्यो त्यति धेरै विश्वस्त हुन नसकिने निर्देशक डा.खतिवडाको भनाई छ । तर पनि चढेको भेटीको आधारमा भन्दा पहिले पनि ५० देखि ६० हजार दर्शनार्थीले नै दर्शन गर्ने बताउनु भयो । पहिलेको वर्षमा भन्दा अहिले पनि २० देखि २५ प्रतिशतसम्म भक्तजनको आगमनमा कमी भएको उहाँको भनाई छ । तर, अहिले आएकाका संख्यालाई पनि नराम्रो भन्न नमिल्ने दाबी उहाँको छ ।
यदि कोरोनाको आतंक नभएको भए विगतका वर्षहरुमा भन्दा बढी नै दर्शनार्थी ल्याउने योजनामा कोष रहेको बताउनुभयो । कोरोना महामारी आउनुभन्दा पहिले काठमाडौंमा जनघनत्व बढी भएको कारण भक्तजन बढाउन सक्ने तर्क उहाँको थियो । पशुपतिनाथको मन्दिर दर्शन गर्न आएका भक्तजनका संख्या कम्युटरका माध्यमले गणना गरिने पनि बताउनु भयो । जसले गर्दा मन्दिरमा दर्शन गर्न आउनेको तथ्यांक विश्वसनी रहेको छ र साथै जानकारी राख्न सजिलो पनि भएको छ ।
भक्तजनको संख्या बढेसँगै मन्दिरमा चढ्ने भेटीमा पनि वृद्धि भएको छ । मन्दिर दर्शन गर्नेको संख्यमा वृद्धि भएपछि भेटीमा पनि स्वतः वृद्धि भएको निर्देशक डा.खतिवडाले बताउनु भयो । मन्दिर खुलेको महिनामा मात्रै अर्थात् पुस महिनामा मात्रै २० लाख नगद दान पात्रमा उठेको उहाँले बताउनुभयो । त्यस्तै माघ महिना सकिन लागेको र यसको विवरण आउन बाकी नै रहेको छ । पछिल्लो चार दिनमा दानपात्रमा उठेको रकम माघ २५ मा ५६ हजार एक सय ४०, २६ गते ९० हजार ६ सय ५६, २७ गते एक लाख ८० हजार सात सय २५ र २८ गते ७० हजार दुई सय ४६ रुपैयाँ गरी जम्मा तीन लाख ९७ हजार सात सय ६७ रुपैयाँ उठेको जानकारी दिनुभयो ।
प्रतिक्रिया