प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोग पुग्नुभएको छ । प्रधानमन्त्री ओली मध्यान्ह ११ः५० बजे आयोग पुग्नु भएको हो ।
नेता सुवास नेम्वाङका अनुुसार प्रधानमन्त्री ओली निर्वाचन तयारीका सम्बन्धमा छलफल गर्न आयोग जानुभएको हो । प्रधानमन्त्री ओलीभन्दा पहिले नै नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ आयोग पुग्नु भएको थियो । नेताद्वय पुगेको एक घण्टापछि ओली आयोग पुग्नु भएको हो ।
“वैशाख १७ र २७ गते हुने चुनावको विषयमा जानकारी लिन प्रधानमन्त्री ओली उपप्रधानमन्त्री, कानुनमन्त्री, अर्थमन्त्रीसहित आयोग पुग्नुभएको हो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले गरेको चुनावको तयारी सन्तोषजनक नै रहेको प्रतिक्रिया दिनुभएको सल्लाहाकार थापाले पत्रकारहरुलाई जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले निर्वाचनमा जुट्न स्रोत र साधनको कुनै कमी नआउने प्रतिबद्धता जनाउनु भएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले तोकिएको समयमा नै निर्वाचन गराउनुको विकल्प नरहेको बताउनु भएको छ । साथै निर्वाचनको तयारीमा भईरहेको सुरक्षा र बजेटको बारेमा पनि जनाकारी दिनुभयो ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको भोलीपल्ट प्रधानमन्त्री ओली आयोग पुग्नुभएको हो । सोमबारको मन्त्रीपरिषद्को बैठकले बैशाख १७ गते प्रदेश २ का ८, गण्डकीका ११, लुम्बिनीका १२ र कर्णालीका १० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो। । दोस्रो चरण अर्थात् वैशाख २७ मा तीन प्रदेशका ३६ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय छ । प्रदेश १ का १४, बागमतीका १३ र सुदूरपश्चिमका ९ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ । ओली र प्रचण्ड(नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन् । उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
प्रतिक्रिया