लाइसेन्स लिन ट्रायलको समयावधि बढ्यो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) को समयावधि बढाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै ट्रायल परीक्षाको समयावधि बढाइएको हो ।

विभागले यसअघिको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई बढाउदै अधिकतम १८ महिना पुर्याएको हो । “पहिले तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउँथे अब १८ महिनाभित्र तीन पटक ट्रायल दिन मिल्ने व्यवस्था गरेका हौँ “। घामछायासंग कुरा गर्दै प्रवक्ता डा.लोकनाथ भूषालले भन्नुभयो ।

कोभिड–१९ ले गर्दा नौ महिनासम्म त्यसै बन्द भएको र अहिले खुले पनि आवेदन दिनको सङ्ख्या उच्च भएकोले यसलाई नियन्त्रित गर्न समयावधि बढाउन परेको प्रवक्ता भूषालले बताउनुभयो । “कोभिड–१९ का कारण लामो समयदेखि बन्द भएको र त्यो समयको आवेदन पनि यसैमा खप्टिएको ले गर्दा अब को नौ महिनामा सबै “क्लियर” हुने आशामा समय बढाउनु परेको हो”। उहाँले भन्नुभयो । पुन: पहिलेकै अवस्थामा आएपछि भने फेरि पुरानै नियम लागू हूने पनि उहाँले बताउनुभयो।

लिखित परीक्षा पास गरे पनि ट्रायल परीक्षामा रोकिरहेका सेवाग्राहीका सुविधाका लागि विभागले यस्तो निर्णय गरेको हो । “दुई पटक ट्रायलमा फेल भएकाहरुका लागि तीन महिना भित्रमा नै ट्रायल दिनैपर्ने बाध्यात्मक स्थिति रहने छैन”। यसले गर्दा परीक्षार्थीमा तनाव कम हुने प्रवक्ता भूषालको बुझाइ रहेको छ । अब ट्रायलका लागि १८ महिनाको समय पाउँदा थप सुविधा हुने पनि बताउनु भयो ।

विभागबाट भएको उक्त निर्णयअनुसारका मातहतका यातायातका कार्यालयहरुलाई सोही व्यवस्थाअनुसार कार्यान्वयन गर्न समेत अनुरोध गरिसकिएको भूसालको भनाई छ । योसँगै अब नयाँ लाइसेन्सका लागि आवेदन दिने परीक्षार्थीले लिखित पास गरेर ट्रायल फेल भएको खण्डमा अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् ।