नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।
मौसमविद् समीर श्रेष्ठले घामछाँयासंग कुरा गर्दै उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुने बताउनु भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।
पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ । काठमाडौँ उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले आज बढी चिसो महसुस भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ । काठमाडौँको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।
मौसम पूर्वानुमान महाशखाका अनुसार प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा सफा रहने जनाइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबै भन्दा कम जुम्लाकोृ न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री र सबै भन्दा धेरै विराटनगरको न्युनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ
प्रतिक्रिया