अष्ट्रेलियामा जारी बीग बास लिग(बीबीएल) क्रिकेटमा शुक्रबार पर्थ स्कर्चर्सविरुद्धको खेलमा होबर्ट हुरिकेन्सका लागि नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।
मलवर्नमा भएको खेलमा उनले चार ओभर गर्दै ६.७५ को रनरेटले २७ रन खर्चिएका थिए । छैटौँ ओभरमा बलिङमा ल्याएको सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा ओपनर लिभिङस्टोनलाई आउट गरे । सन्दीपको पहिलो बलमा लिभिङस्टोनले छक्का प्रहार गरेका थिए । सन्दीपले आठौँ ओभरमा मिचेल मार्सलाई एलबीडब्लु गराएको थियो । हुरिकेन्सका लागि सन्दीपबाहेक नाथन एलिसले चार विकेट लिए । उनले चार ओभरमा ३४ रन खर्चिए ।
पहिला ब्याटिङ गरेको स्कचर्सका लागि जोस इङ्लिसले सर्वाधिक ५८ रन जोडे । उनले ३५ बलको सामना गरेर ४ चौका र २ छक्का प्रहार गरेका थिए । जे रिचार्डसनले १४ बलमा ३ चौका र २ छक्काको विस्फोटक पारी खेल्दै २९ रन बनाए । लिभिङस्टोनले २६ र जेसन रोयले २० रन जोड्दा अरु खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । स्कर्चर्सले हुरिकेन्सलाई एक सय ८० रनको लक्ष्य दिएको छ ।
प्रतिक्रिया