कांग्रेसले भोलि देशभर वडास्तरीय प्रदर्शन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिको वडास्तरीय प्रदर्शनमा ऐक्यवद्धता जनाउन सबैमा अपील गरेका छन् । संसद विघटनविरुद्ध कांग्रेसले भोलि माघ ८ गते बिहीवार देशभर वडास्तरीय प्रदर्शन गर्न लागेको हो ।

“के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७ सय ४३ वडामा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।” सभापति देउवाले बुधवार एक विज्ञप्ति जारी गर्दै भन्नुभयो ।

कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । देउवाले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन आग्रहसमेत गरेका छन् ।