पैसा पाएनन् चिसोले लखेट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जय यादव।
पौष १३ , काठमाडौं।
वर्षौ अघिदेखिको उखुको भुक्तानी लिन राजधानीमा आन्दोलनरत उखु किसानहरु चिसो खप्न नसकेर घर फर्कन थालेका छन्। एकपछि अर्को गर्दै ६/७ जना किसानहरु बिरामी परेपछि घर फर्किएका छन्।
घर फर्किने किसानहरुमा सर्लाही सिसौटियाका ६५ वर्षीय रामअसारे साह ,५० वर्षीय नरेश महतो ,६० वर्षीय रामईश्वर साह ,७० वर्षीय शिवजी साह र ६२ वर्षीय राजेन्द्र मण्डल रहेका छन। रुघा र ज्वरोका कारण माईतीघर मण्डला जानै नसक्ने भएपछी घर फर्किएको उनीहरुसंगै आन्दोलनरत किसान श्याम साहले बताउनु भयो।
”यहाँ भन्दा घरमा स्याहार गर्न सजिलो हुने भन्दै फर्किए ”,साहको भनाई छ।
राजधानीको १.३ डिग्रीको न्युनतम तापक्रममा दैनिक बिहान देखि बेलुकासम्म खुला आकाश मुनि बस्नु पर्दा चिसोले असर गरेको किसानहरुकोले बताएका छन्।

अहिले पनि आन्दोलनरत किसानहरुमा चिसोको असर देखिएको छ। ५५ वर्षीय धनराज सहनी पनि रुघाले ग्रसित भईसकेका छन्। तर उहाँले भुक्तानी नपाई कुनै पनि हालतमा घर नफर्किने अडान नै लिनु भएको छ।

आन्दोलनमा आएकाहरु मध्ये ५० वर्ष नाघेका किसानहरुको संख्या अत्यधिक रहेको छ। यस उमेरका व्यक्तिहरुमा चिसोले असर गर्ने सम्भावना उच्च हुने चिकित्सकको भनाई छ। नेशनल मेडिकल कलेज वीरगंजमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत तथा स्वास्थ्यकर्मी रामजी रामका अनुसार मानिसको शरीरको तापक्रम फरक फरक हुने भएकोले शारीरिक अवस्था अनुसार चिसोको असर हुने गर्छ।
यदि कुनै व्यक्तिहरुमा पहिल्यैदेखि अन्य किसिमको कुनै रोग छ भने ५० वर्ष नाघेपछि चिसोले असर गर्ने सम्भावना एक स्वस्थ्य व्यक्तिको तुलनामा अधिक हुन्छ। अझै थाईराईडको समस्या हुनेहरुमा उच्च जोखिम हुने गरेको उहाँले घामछायाँसंगको फोन सम्पर्कमा बताउनु भयो।

हाल किसानहरुलाई बस्ने र खाने सुबिधा भए पनि चिसोबाट बच्न खासै प्रभावकारी साधन नभएको किसान श्याम साहले बताउनु भयो। उहाँका अनुसार राजधानीको गौशालामा एक होटेलमा बास बस्दै आएको र २ जना सुत्ने ओझ्यानमा ५ जनासम्म सुत्नु परेको छ। होटलले उपलब्ध गराएको २ वटा कम्बल र कपिलवस्तुका एक कृषि संस्थाले उपलब्ध गराएको ४० वटा कम्बल साटासाट गरेर चिसो धानिरहेको उहाँले बताउनु भयो। हाल राजधानीमा १५० जना बढी उखु किसानहरु उपस्थित रहेका छन्।