काठमाडौं, ४ मंसिर
भत्ता लगायत अन्य सेवा सुविधाको माग राख्दै वीर अस्पताल (चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान) मा कार्यरत स्वास्थ्यकर्मीहरुले आजबाट थप चर्को आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनलाई थप सशक्त बनाउने क्रममा आज स्वास्थ्यकर्मीहरुले न्याम्सका निर्देशक केदार प्रसाद सेन्चुरी, रेक्टर डा सुबोध अधिकारी, उपकुलपति डा डि एन शाह, डिन डा. पियुष दाहाल तथा रजिष्टार प्रमिला देवान लगायतका पदाधिकारीहरुलाई अस्पताल प्रबेशमा रोक लगाएका छन् । साथै उनीहरुले अस्पतालमा दुई घन्टाुसम्म पदाधिकारी र स्वास्थ्य मन्त्रालय बिरुद्ध नाराबाजी गरेका थिए ।
स्वास्थ्यकर्मी आन्दोलित भएको ३१ औ दिन हुँदा पनि अझै उनीहरूको मागको सुनुवाई नभएको भन्दै उनीहरुले आजदेखि एक साता लामो कार्यक्रम थालेका हुन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले कोरोना महामारीको समयमा निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई समयमै भत्ता दिनुपर्ने र यसअघि पाउँदै आएको सेवा सुविधा कटौती गर्न नहुने माग राखेका छन् ।
सरकारबाट कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोवल गिराउने काम भइरहेको उनीहरुको आरोप छ ।
नेपाल स्वास्थकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यका अनुसार आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुका लागि सरकारले तोकेको सेवा सुविधासमेत पदाधिकारीहरुले दिन गरेका छैनन् ।
उहाँका अनुसार आगामी मंसिर १२ गते शुक्रवारसम्म हरेक दिन विहान १० देखि १२ बजेसम्म अस्पताल प्राङ्गणमा नियमित धर्ना तथा नारा जुलुश गरिने जानकारी दिनुभयो । साथै पदाधिकारीविरुद्ध पम्प्लेट टाँस गर्ने कार्यक्रम गरिने छ ।
आफ्नो आन्दोलनबाट बिरामीलाई कुनै अप्ठ्यारो नपर्ने दावी गर्दै आचार्यले बरु आन्दोलन बिरामीसमेतको पक्षमा भएको बताउनुभयो । “आन्दोलनमा अस्पतालको सेवा पुर्ववत सुरु गर्नसमेत माग गरिएको छ । किनकी अहिले वीर अस्पताललाई कोभिड अस्पतालमा मात्र सिमित गरेर दुर दराजका विरामीलाई दुःख दिइँदैछ”, उहाँको भनाई थियो ।
प्रतिक्रिया