तराई मधेश कै ठुलो पर्व छठ आजदेखि विधिवत सुरु( छठका विशेषता सहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०३ ,काठमाडौं ।

देशमा विशेषत: मधेशमा मनाइने छठको तयारी आजबाट विधिवत सुरु भएको छ।
आज व्रतालु महिलाहरु नजिकै रहेको जलाशयमा नुहाएर खाना खाएका छन् । यसलाई स्थानीय भाषामा ‘नाहान-खान’ भनिन्छ। व्रतालुहरुले आज नुहाए पछि शुद्ध शाकाहारी भोजन गरेका हुन्।

व्रतालुले दोस्रो दिन बिहिबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी, केरा र मुला राखी मौन पुजा गर्छन् । स्थानीय भाषा यसलाई खरना वा रसिआओ रोटी भन्छन् ।

यो वर्ष पर्सि (तेस्रो दिन शुक्रबार) बिहानदेखि गहुँ र चामलको शुद्ध पिठोबाट ठेकुवा, पुरी र पुडुकिया बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् । छठकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुलोमा मुख्य उपासक महिलाको नेतृत्वमा यी ‘चढावा’ तयार पारिन्छ ।

जलाशय जानु भन्दा अगावै घरको कुलदेवताको पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकी (दउरा) मा राखेर माथितिर एउटा दीयो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवम् अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार गई पुजा अर्चना गर्ने गरिन्छ । नदि किनार वा घाटलाई पनि केराको बोट, दियो एवम् बत्तीले घाटलाई झकिझकाउ पारिएको हुन्छ ।नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, पुडुकिया, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवम् तरकारी राखिन्छ।
पूर्व निर्धारित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुनः फिजाएर राखिन्छ। नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य व्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख पारेर जलाशयमा उभिन्छन्।

सहयोगी एवम् परिवारजनले उनको हातमा पालैपालो नांग्लोसहितको पुजन सामग्री राख्दै अर्घय दिन्छन्। यो विधिको समापनपछि कतिपय ब्रतालु एवम् परिवारजन घाटमै बस्छन् भने कतिपय घर फर्कन्छन् । यसलाई सझिया (साँझको) घाट वा सझिया अर्घय भनिन्छ । यो साँझ घरदेखि घाटसम्म दिपावली मनाइन्छ । घाटमा कुस्ती, लोक नृत्य, नाटक मञ्चन एवम् विविध साँस्कृतिक कार्यक्रमको आयोजन हुन्छ ।

त्यसपछी छठ घाट वा घरमा कोशी पूजाको आयोजना गरिन्छ । कोशी पूजा प्रत्येक बर्तालुले गर्नुपर्दैन । भाकल गरेको बर्तालु कोशी पूजा गर्छन जहाँ छठ मान्ने अन्य बर्तालुहरुपनि आएर छठको गित गाउँछन् । कोशी पूजाको लागि उखुलाई एकआपसमा बाँधेर गोलो आकार बनाइन्छ र त्यसको छेउमा दियो बाल्ने गरिन्छ ।

चौंथो तथा अन्तिम दिन ( यो वर्ष शनिबार) बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित पुन: भेला हुन्छन् । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित त्यसमाथिबाट दूध/जलको अर्घय दिएपछि यो महापर्वको समापन हुन्छ । यसलाई भोरका घाट वा भोरिया घाटे भनिन्छ ।

यसपछि छठको लोक कथाको वाचन हुन्छ । समापनको अवसरमा समेत मुख्य ब्रतालु महिला र परिवारका अन्य महिला सदस्यले गीत गाउँदै एक अर्काको निधारमा सिन्दुरको टिका लाउँछन् ।

ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाड्दै अर्को वर्ष फेरी आउने बाचाकासाथ घर फर्कन्छन् । ३६ घण्टे निर्जल उपवासपछि घर फर्कि ब्रतालुले सादा भोजन ग्रहण गरेर उपवास तोडछन् ।यो पूजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवम् पाहुनालाई समेत बाँडछन् ।

विगतका तुलनामा पछिल्लो समय घाटमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई बढावा दिए पनि अन्य खेलकुद जस्ता गतिविधिहरु भने कम हुदै गएका छन्। कोरोनाभाइरस महामारीका कारण विगतका वर्षहरु झैँ छठ पर्वको उत्साह घटेपनि विधिवत रुपमा तराई मधेस सहित देशका अन्य स्थानमा छठको तयारी सुरु भएको छ ।