गोधन कुटाइसँगै छठको राैनक सुरु, मधेसममा आज बजडी मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मंसिर १ ।
छठ पूजा गर्ने संकल्प गर्दै सूर्योदय पूर्व व्रतालुहरुले सोमबार विहान गोवर्द्धन पूजा गरेका छन् । गाई र गोरुको गोठमा गोबरलाई पहाड तथा गोवर्द्धन भगवानको प्रतिक बनाइन्छ । घरमा गाई वा गोरु हुने व्रतालुले आफ्नै गोठबाट गोवर्द्धन भगवानको प्रतिक बनाएर गाउँको कुनै चौबाटोमा भेला भएर सामूहिक गोवर्द्धन पूजा गर्छन जसलाई गोधन कुटाइ भनिन्छ । गोधन कुटाइका लागि गोबरमा केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाइ आदिको प्रयोग गरिन्छ । सबैको घरबाट गोवर्द्धन भगवान आएपछि एकै ठाउँमा गोवर्द्धन पहाड बनाइन्छ । त्यहाँ एउटा माटोको हाँडीलाई चारैतिरबाट टिका लगाएर हाँडीभित्र माटोको दियो बालेर गोवर्द्धन पहाडमाथि राखिन्छ ।

चारैतिरबाट व्रतालुहरुले उभिएर पहिला छठ पर्वको गीत गाउँछन् र हलोको जुवाले हाँडीलाई फुटाउँछन् । हाँडी फुटाउने जुवालाई छठ पर्व गर्नेले मात्र समाउँछन् । हाँडी फुटेपछि उपस्थित सबै महिलाले दाजु र भाइको नाम लिई एकै स्वरमा गीत गाउँछन् जसलाई स्थानीय भोजपुरी भाषामा सरापेको भन्छन् ।

गीतमा दिदी–बहिनीले दाजु–भाइको लामो आयुको कामना र प्रार्थना गर्दछन् । हाँडी फुटाएको गोबरमा चढाइएका विभिन्न सामग्रीलाई सबै व्रतालुहरुले निकाल्ने प्रयास गर्दछन् । मुख्य गरी दाजु भाइले अनिवार्यरुपमा त्यो सामग्री कपासमा मुछेर खाने चलन रहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ निवासी ६५ वर्षीय व्रतालु सिउ दुलारी देवीले बताइन्।

गोवर्द्धन पूजासँगै छठ पर्वको सुरुआत भएको मानिन्छ । गोधन कुटाइपछि व्रतालुहरुले छठ पर्वको सामग्री पकाउने चुलो बनाउँन माटो ल्याउँन जान्छन छन् । त्यो माटोले चुलो तयार भएपछि त्यसैमा छठको लागि पकाउँनु पर्ने सम्पूर्ण प्रसादलगायतका सामग्री तयार पारिन्छ । यसै गरी छठ पर्वमा प्रयोग हुने मुख्य प्रसाद ठेकुवा र कसारको लागि धान तथा गहुँ सुकाउने काम आजैबाट सुरु भएको छ । गोवर्द्धन पूजा सम्पन्न भएपछि छठ पर्वको औपचारिक सुरुवात हुने मधेस संस्कृतिको विषयमा जानकार संजय यादवले बताए ।

         कतिपयले सूर्यलाई अर्घ्य दिने कार्यलाई मात्र छठ पर्व मान्ने गरेको कुरालाई अस्वीकार गर्दै यादवले सूर्यलाई साक्षी राखेर छठीमाईको पूजा गरिने बताए । रातभरि पूजा गर्ने भनेर अस्ताउँदो सूर्यलाई साक्षी राख्दै भोलिपल्ट बिहान पनि उदाउँदो सूर्यलाई साक्षी राख्ने परम्परा रहेको बताउँदै मित्र भन्छन् ‘छठीमाईको वास्तविक पूजा खरनाको साँझ घरमा गरिने पूजा र षष्ठीको राति रातभरि जाग्राम बसी कोसिया भर्ने काम हो ।’ लोकपर्व छठलाई कतिपयले शास्त्रीय पर्वको रुपमा मान्ने गरेकोलाई यादवले अस्वीकार गरे ।

गोवर्द्धन पूजालाई स्थानीय भोजपुरी भाषामा बजडी पनि भन्ने गरेको सन्दर्भलाई यादवले छठसँग सम्बन्धित रहेको बताउँछन् । गोधन कुटाइमा प्रयोग गरिएको केराउ (बजडी) लाई मिठाइमा राखेर दाजुभाइलाई खुवाउने र कपासलाई दाजुभाइको कन्धनीमा बाँध्ने चलन रहेको यादव बताउँछन् । तराई मधेसमा मनाइने भरदुतिया चाहिँ भाइटीका नभएको र भाइटीकाभन्दा निकै फरक छठसँग सम्बन्धित रहेको यादवको दाबी छ ।