काठमान्डौ १७ कार्तिक।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरूद्ध पेश भएको अवहेलना निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ।
हिजो पेश भएको निवेदन आज दर्ता गरिएको सर्वोच्च अदालतले जनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरूद्ध पेश भएको अवहेलना निवेदनबाट प्रधानमन्त्रीको नाम हटाउन लगाएर सर्वोच्च अदालतले दर्ता गरेको छ।
”मूल मुद्दामा जसलाई विपक्षी बनाइएको हो अवहेलना सम्बन्धि मुद्धामा पनि त्यसलाई मात्रै विपक्षी बनाउनुपर्छ”, सर्वोच्चको तर्क छ।
कोरोनाको सबै उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको भन्दै आइतबार अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरूद्ध अवहेलनाको निवेदन सर्वोच्चमा पेश गर्नु भएको थियो।
यो निवेदन दर्ता प्रकृयाको अन्तिम चरणमा पुगेपछि अदालत प्रशासनले नमिलेको भन्दै रोकेको थियो।
रिट निवेदकले भने सर्वोच्चको आदेश विपरित कोरोना परीक्षणदेखि उपचार गर्दासम्म शुल्क लाग्ने निर्णय मन्त्रिपरिषदले गरेकाले नेतृत्व प्रधानमन्त्रीलाई पनि विपक्षी बनाइएको बताएका थिए।
सर्वोच्चले निवेदनमा प्रधानमन्त्रीलाई विपक्षी नबनाई मूल मुद्दाका विपक्षीलाई मात्र विपक्षी बनाएर ल्याए दर्ता गर्ने, नभए नगर्ने बताएपछि निवेदकले सच्याएका हुन्।
जुन निवेदनमा सर्वोच्चले कोरोनाको उपचार निशुल्क गर्नु भनेको थियो त्यो निवेदनमा विपक्षी जो थियो उसैलाई मात्र विपक्षी बनाउनुपर्ने सर्वोच्चको तर्क हो।
सर्वोच्च प्रशासनले नभए दर्ता नै नहुने भनेपछि आफूहरू सच्याउन बाध्य भएको अधिवक्ता वलीले बताए।
‘हामीलाई विपक्षीको नाम सच्याउन लगाएर मूल मुद्दाका विपक्षीको नाम मात्र लेख्न भनियो। हामी त व्यक्ति हौं संस्था नै लागेपछि केही गर्न सक्ने कुरा भएन। विभागीय मन्त्रीलाई भए पनि कारबाही होला भनेर निवेदन दर्ता गर्यौं,’ उनले भने।
असोज १५ गते सर्वोच्च अदालतले सरकारी निकायबाट कोरोना उपचार गर्दा शुल्क नलिन आदेश गरेको थियो।
सरकारले भने असोज १९ गते नै कोरोनाको उपचार गर्दा शुल्क लिने निर्णय गरेको थियो।
मन्त्रिपरिषदले गरेको सो निर्णय स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कात्तिक दुई गतेको प्रेस ब्रिफिङमा भनेका थिए।
मन्त्रिपरिषदले नै सर्वोच्च अदालतको परमादेश विपरित हुने गरी निर्णय गरेपछि त्यसको नेतृत्वकर्ता प्रधानमन्त्रीलाई विपक्षी बनाउनु स्वभाविक भएको अधिवक्ता वलीको जिकिर छ।
‘जसको निर्णयले सर्वोच्चको परमादेश कार्यान्वयन गर्न बाधा परेको हो उसैलाई विपक्षी बनाउन नहुने भन्ने त हुन्न तर सर्वोच्चले मानेन,’ उनले भने।
सोमबार दर्ता भएको निवेदनमा स्वास्थ्यमन्त्री ढकाल र स्वास्थ्यमन्त्रालयलाई विपक्षी बनाइएको छ। उनीहरूलाई अधिकतम १ वर्ष कैद सजाय र दश हजारसम्म जरिवाना तिराउन पनि उक्त निवेदनमा माग गरिएको छ।
सरकारले पनि दियो पुनरावलोकन निवेदन :
सरकारले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ।
कोभिड १९ संक्रमितको उपचार निशुल्क गर्नू भन्ने जारि गरिएको परमादेश सच्याउन सरकारले निवेदन दर्ता गरेको हो ।
सर्वोच्च अदालतले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको अनिवार्य दायित्व भएकाले कोरोना संक्रमितको निशुल्क उपचार गर्न असोज १५ गते परमादेश जारी गरेको थियो।
सर्वोच्चको आदेशलाई लत्याउँदै संक्रमित आफैँले उपचार गर्नुपर्ने निर्णय गरेको सरकारले उक्त आदेश पनि सच्याउन माग गर्दैै आइतबार महान्यायधिवक्ता कार्यालयमार्फत पुनरावलोकनको निवेदन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
प्रतिक्रिया