काठमाडौं ः रानी पोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गत साता गजुर पुनस्र्थापना गरिएको छ । यसपछि मन्दिर पुनर्निमाणले एउटा महत्वपूर्ण चरण पार गरेको छ । प्रताप मल्ल निर्मित ऐतिहासिक रानी पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पाँच वर्षअघिको भूकम्पले भत्किएपछि एकातर्फ पोखरी समेत सुकेको थियो भने अर्कोतर्फ पुर्ननिर्माणको ढाँचाबारे निकै लामो समयसम्म वादविवाद भएको थियो । अहिलेको पुस्ताले देख्दै आएको गुम्बज शैलीको साटो मौलिक अर्थात् मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ । अहिले रानी पोखरीमा पानी र मन्दिर पुर्ववत् देखिन थालेका छन् ।
तर सम्पदा प्रेमीहरु भन्छन्, यतिले मात्रै रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी सकिँदैन । मध्य शहरको यो सम्पदालाई वरपर छेकेर बसेका कंक्रिट संरचनाबाट मुक्त नगरेरसम्म रानी पोखरीको पुनर्निर्माण सम्पन्न भयो भन्नु सही हुँदैन । किनारमा रानीपोखरीको सौन्दर्यमाथि धब्बा जस्ता बनेका यि संचरनालाई हटाएर रानीपोखरीको मध्यकालीन शैलीसँग मेल खाने वातावरणको निर्माणको तयारी अब चाल्नु पर्ने अर्को पाइला हो ।
अहिले रानीपोखरी छेउ पुग्नेहरुले पोखरीमा पानी र मन्दिरलाई हरेर प्रशंसा गर्न सक्छ तर त्यही पोखरीको निर्माता मानिएका प्रताप मल्ल, उनकी रानी र छोरा हात्तिमा सवार भएको प्रतिमा तर्फ आँखा परेपछि भने विरक्तिने अवस्था छ । सयौं वर्षको घाम पानी र हावा खपेको यो एतिहासिक धरोहर कत्तिको जोखिममा छ भन्ने कुराको समेत अहिलेसम्म अध्ययन गरिएको छैन । त्यसलाई मौलिकरुपमा बचाइराख्न के गर्ने भन्ने बारे सोचिएकै छैन ।
त्यसपछि अहिले त्यहाँ नदेखिने तर तस्विरहरुमा रहेको भव्य सत्तलको कुरा छ, सम्पदा प्रेमीहरु भनिरहेका छन् । त्यो सत्तल त्यसै गरी त्यही रुपमा बनाइनु पर्छ । मध्यकालिन काठमाडौं प्रवेश विन्दुमा रहेको यो सत्तल, कहिलेसम्म अस्तित्वमा थियो र कसरी त्यहाँबाट लोप भएर गयो भन्ने बारे अहिलेसम्मल पत्तो छैन ।
त्यसबाहेक वरपरका स्थलबाट अन्य कक्रिट संरचना हटाउने र पोखरी वरपरको पुरै भाग लाई रमणीय पार्कको रुपमा विकास गर्ने योजना यसअघि महानगरले अघि सारेको थियो । उक्त योजनासँग मन्दिर पुनर्निर्माण र पोखरीको कुरा समेत जोडेर विरोध गरिए पनि अहिले पोखरी वरपरको भागलाई कसरी उत्कृष्ठ ढंगले सम्हाल्ने र शहरवासीको उपयोगमा ल्याउने भन्ने कुराको टुंगो लाग्न बाँकी नै छ ।
रानीपोखरीको पुनर्निर्माणमा सुरुदेखि नै चासो दिएर लागि परेका इन्जिनियर राजु मानन्धर भन्नुहुन्छ, यो काम सबै दोस्रो चरणको लागि हो । उहाँका अनुसार हाल पुनर्निर्माण गरिरहेको पक्षले सरकारलाई यो हस्तान्तरण गरेपछि मात्र दोस्रो चरण सुरु हुने अवस्था छ । ‘त्यसको अहिले कुरै मात्र भएको छ ।’ , उहाँको भनाई छ । यसमा रानीपोखरी, रत्नपार्क र खुल्ला मञ्चलाई जोडेर एकीकृत ढंगले सौन्दर्यकृत गर्ने लक्ष्य राखिएको छ । यसैमा प्रताप मल्लको शालिक र पुरानो सत्तल समेतले ठाउँ पाउने उहाँ बताउनुहुन्छ । ‘यससँगै रानीपोखरीमा घुम्न आउने व्यक्तिहरुको आवागमन कसरी व्यवस्थित गराउने भन्ने कुरा समेत छ’, उहाँले भन्नुभयो।
प्रतिक्रिया