काठमाडौं : मास्क र सेनेटाइजर । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुप लिए सँगै व्यापक प्रयोगमा आएका यि वस्तुहरु अहिले बजारमा थरी थरी रुप र रंग लिएर आएका छन् । संक्रमणको बढ्दो ग्राफसँगै मानिसहरुमा त्रास पनि बढेको छ । र मास्क तथा स्यानिटाइजरको उपभोग पनि । यसअघि जीवनमा कहिल्यै मास्क प्रयोग नगरेका लाई समेत के कस्तो मास्क प्रयोग गर्ने चासो बढेको छ । कुन कम्पनिको मास्क राम्रो हुन्छ भन्ने बारे ज्ञानसँगै भ्रम पनि बढेको छ ।
पाटन बहमुखी क्याम्पसका सय प्राध्यापक विजयप्रसाद मिश्रका अनुसार हामीले लगाउने सबै मास्क सुरक्षित छैनन् । कमसल मास्क पनि आउँछन् । कतिपय त लगाएर काममा जाँदा बाटोमा नै डोरी टुट्ने गरेको छ । केही ब्राण्डेड नाम उल्लेख भएको मास्कहरु पनि नक्कली बनाएर बजारमा विक्रि भइरहेको छ । कतिपय मास्क लगाउनु र नलागउनु उत्तिकै हो भन्ने डाक्टरहरुको सन्देश, अन्तर्वार्ता सुन्दा भने झनै डर हुन्छ । तर बाध्यात्मक स्थितिले जुन भेट्छ वा घर नजिकको पसलमा जे उपलब्ध छ त्यही किन्नु पर्ने बाध्यता छ । यसको विकल्प नै छैन ।
सेनिटाइजर पनि उस्तै हो । मैले शुरुमा डिटोलको सेनिटाइजर किने । पछि डिटोल खोज्दा बजारमा पाइएन । कहिल्यै नाम नसुनेको सेनेटाइजर देखाएर यो मात्र पसलमा छ भन्ने गरिन्छ । जुनमा बढी कमिशन आउँछ त्यही बेच्ने हो कि वा नपाएर हो थाहा भएन । पत्रकार भएकोले विभिन्न स्थानमा पुगिन्छ । कुनै ठाउँको सेनेटाइजर राम्रो हुन्छ । कुनै स्थानको धेरै गन्हाउने हुन्छ । हातमा चर्चराउने, छालालाई खराब बनाउने पनि लगाउनु परेको छ । त्यसैले सेनेटाइजरको साइड इफेक्ट झनै खतरा हुन्छ । यस तर्फ अनुगमन भएको जस्तो देखिदैन । कुन कुन ठीक भन्ने सन्देश नै छैन । यसतर्फ ध्यान दिनु पर्दछ ।
सेनिटाइजरको प्रचार गर्दा नै अल्कोहलवाला सेनिटाइजर भन्ने गरेको सुनिन्छ । यसमा अल्कोहलको मात्र त हुन्छ नै तर कति मात्रामा भएको ठीक, कोभिड–१९ कोरोना भाइरस मार्ने नाउँमा धेरै कडा बनाइयो भने मानिसको हातको छाला नै विग्रिएको वा छालामा इन्फेक्सन भएको घटना धेरै बाहिर आएको छ । कतिपय सेनेटाइजर त ठ्वास्स गन्हाउने खालको पनि छ । यो बनाउनेहरुको अनुगमनको
पाटो कस्तो छ ? त्यसमा भर पर्दछ । सावुन पानीले हात धुनु नै सबैभन्दा उत्तम हो पनि भन्ने गरिन्छ तर सेनिटाइजर त फेसन भइसक्यो । त्यसैले सेनेटाइजरको उत्पादनमा सरकारले सम्वेदनशील भएर विचार गर्नु पर्दछ । जुनपायो त्यही सेनेटाइजर लगाउँदा त्यसले हानी नै गर्दछ ।
यसका लागि सरकारले तत्काल बजारमा आएका सेनिटाइजरहरुको परीक्षण गरी जुन जुन उपयुक्त छैन त्यसलाई बजारबाट हटाउने, उत्पादन रोक्ने र घर घर पुगिसकेकालाई प्रयोग नगर्नु भनेर प्रचार प्रसार गर्ने काम थालिहाल्नु पर्दछ ।
मास्क लगाउने विधि र खोल्ने विधि पनि सबैले राम्ररी जानिसकेका छैनन् । हातले मास्क छोइरहने, नाक मुखबाट मास्क हटाएर घरी घरी तल सारिरहने । फेरी त्यही हातले नाक मुख छोप्ने मास्कको भागमा समातेर लगाउने गर्दा हातको माध्यमले सजिलै कोरोना सर्न सक्छ । त्यसैले कानमा लगाएको डोरीलाई समातेर खोल्ने र डोरी समातेर नै लगाउने गर्नु पर्दछ ।
एकपटक लगाएको मास्कलाई घरमा आएपछि फुकालेर फेरी साबुनपानीले राम्रो संग धुएर सुकाएर प्रयोग गर्न सकिन्छ । नधुइकन पटक पटक एउटै मास्क प्रयोग गर्दा त्यसले अर्को रोग सर्ने वा झुक्किएर कतैबाट मास्कको माथिल्लो भागमा आएको बसेको हुन सक्ने कोरोना अर्को दिन सर्न सक्ने हुन सक्छ ।
कतिपय मास्कमा विभिन्न ब्राण्ड भनेर मास्कको बीचमा स्पन्ज र प्लास्टिकको गोलो प्वाल राखेर त्यसबाट स्वाँस फेर्न सजिलो बनाइएको हुन्छ । त्यो स्पन्जको गुणस्तर राम्रो नभएमा त्यसबाट पनि कोरोना सजिलै भित्र प्रवेश गर्न सक्दछ । त्यसैले ब्राण्डेड जस्तो बनाएर भित्र कमसल सामग्री हालिएको मास्कहरु झनै खतरनाक हुन्छ । मास्कलाई बढी कमाउने व्यापार बनाउनु भन्दा सरकारले आफै उत्पादन गरेर सस्तो दरमा विक्रिको प्रवन्ध मिलाउन विस्तारै प्रयास गर्नु पर्दछ । तत्कालका लागि बजारमा आएका मास्कका बारेमा डाक्टरहरुबाटै कमसल भनेर मिडियामा भनेका मास्कलाई सरकारले उजुरी नआएपनि मिडियाकै आधारमा खोजतलास गरी त्यसको गुणस्तर परीक्षण गरी योग्य छैन भने रोक्नु पर्दछ ।
अझ डोरी धेरै चुडिने गरेको पाइएकोले त्यसतर्फ उत्पादकले समेत ध्यान दिन जरुरी छ ।
सबैभन्दा महत्वपूर्ण कुरा मास्क र सेनेटाइजर लगाएर मात्र भाइरसबाट बच्न सकिन्छ भन्ने हल्ला मात्र हो । यसको सही प्रयोग गर्न सकिएन भने खतरा हुन्छ ।
सेनिटाइजर लगाएको छु भनेर ढुक्क हुने र हातले जथाभावी छोइरहने हो भने त्यो काम छैन । हातले कतै छुने वित्तिकै शरिरको अंग वा कपडामा वा कुनै घरको सामग्रीमा छुनु अघि नै सेनिटाइजर लगाउनु पर्दछ । अर्थात मानिसले हातमा आफ्नो अधिनमा जति बढी राख्न सक्यो त्यति कम सेनिटाइजरको प्रयोग गर्नु पर्दछ । किन कि माध्यम हात नै हो ।
२४ घण्टा मास्क लगायो तर बोल्दा खेरी खोलेर बोल्यो भने के काम भयो र । कम्तिमा बोल्दा मास्क भित्र मुख राखेरै बोल्ने बानीको विकास गरौं । हावाबाट भाइरस सर्ने होइन । मुखबाट निस्किएको थुकका कणहरु मार्फत भाइरस बाहिर जाने हो ।
त्यसैले अरुको थुक र र्यालका कणहरु पनि आफू नजिक नआओस र आफ्नो थुक वा र्यालका कणहरु पनि अरुकोमा नजाओस त्यसमा ध्यान दिनु पर्दछ । केही स्थानहरुमा अरुको थुक वा र्यालका कणहरु मानिस नभएको अवस्थामा पहिलेदेखि नै टाँसिएर बसेको हुन सक्छ । त्यसैले यहाँ मानिस छैन । सामाजिक दुरी कायम गर्नु पर्दैन भनेर जथाभावी मास्क खोलेर हिडने होइन । यातायातका साधन, बाइकका हावाहरुले कसैको मूखबाट निस्किएका थुकका कणहरु धेरै परसम्म पुग्न सक्छ । त्यसैले त्यस्तोमा त झन ख्याल गर्नु पर्छ ।
प्रतिक्रिया