काठमाडौं : ‘भित्रभित्र कति मान्छेमा कोरोना फैलिसक्यो होला’ । भर्खर १५ सयको मात्रै पिसिआर टेष्ट ? यही तालले त सबै जनताको टेष्ट गर्न ९० वर्ष लाग्ने भयो । सांसदहरु सबैको टेष्ट गर्ने सरकारले जनता सबै टेष्ट गर्नुपर्दैन? सर्वसाधारण जनतादेखि तिनलाई प्रतिनिधित्व गर्ने सांसदको समेत आवाज सामाजिक सञ्जालमा पोखिएको छ ।
यसरी आवाज उठाइए पनि देशमा कोभिड १९को संक्रमण आम रुपमा सबैलाई पीसिआर परीक्षण गर्नुपर्ने अवस्था नआइसकेको विज्ञहरुले बताएका छन् । बरी अहिलेका लागि गत विहिबार देखि सुरु गरिएको पुल स्याम्पल टेस्टिङलाई अगाडी बढाउनुपर्ने धारणा उनीहरुको छ ।
शनिबार बिहानसम्मको नेपालमा कोभिड १९ संक्रमितहरुको कुल संख्या १ सय ९ पुगेका देखाउँछ । कूल १५ हजार चार सय ९९ को पिसिआर परीक्षण भएको छ । संक्रमणकै आशंकामा ५४ हजार ५ सय ३१ को ¥यापिड डाइग्नोष्टिक किटबाट –आरडिटी) परीक्षण भएको छ । संक्रमित हुन सक्ने जोखिममा रहेका १५ हजार ६ सय २४ जना क्वारेन्टिनमा र ति मध्ये एक सय ३५ जना आइसोलेसनमा छन् ।
संक्रमण र परीक्षण परिणामको कुल आँकडाले अझै पनि नेपालमा कारोना संक्रमण समुदायस्तरमा नफैलिएको देखाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारी बताउनु हुन्छ । त्यसैले अहिले भेटेजति सबैलाई पिसिआरको परीक्षण गराउने –मास टेस्ट गराउनु भन्दा गत बिहीबारदेखि सुरु गरिएको पुल स्याम्पल टेष्ट पद्धति नै अहिलेको सन्दर्भमा उपयुक्त भएको भनाई उहाँको छ ।
‘अस्तीसम्म एउटा टेष्ट किटबाट एउटा स्याम्पल परीक्षण गरिएकोमा अब एक टेष्ट किटबाट १० जनाको स्याम्पल परीक्षण गरिने छ । यसरी अब विगतको भन्दा १० गुणा बढी परीक्षण हुने छ ’ , उहाँले भन्नुभयो । डा. अधिकारीका अनुसार संकलित स्वाब नमुनाहरुबाट १० जनाको थोरै थोरै नमुना लिइ एकै ठाउँमा मिसाएर एउटा किटबाट पिसिआर परीक्षण गरिन्छ । त्यस परीक्षणमा पोजेटिभ देखिएमा उक्क्त नमुनामा राखिएका १० वटै नमुनाको फेरि अलग अलग परीक्षण हुन्छ र कुन व्यक्ति विशेषको स्वाबमा संक्रमण पोजेटिभ देखिएको हो भन्ने पत्ता लाग्छ । यदी एकै ठाउँमा मिसाइएको नमुनामा नेगेटिभ आएमा १० जनाकै नेगेटिभ रहेको निश्चित हुन्छ ।
‘यसरी जाँच्दा नेपालसहित सिंगो विश्वलेनै अहिले सामना गरिरहेका ‘टेष्ट किटको अभाव र साथै छिटो परीक्षण गर्नुेपर्ने’ समस्या समेत सम्बोधन हुनेछ’, उहाँको भनाई छ । टेष्ट किटको अभावले समस्या पर्न लागि सकेको नेपालमा केही दिनअघि सिंगापुरबाट ३० हजार टेष्ट किट केही समयका लागि ढुक्क हुनसक्ने स्थिति बनेको पनि उहाँले बताउनुभयो । यी किटहरुबाट परीक्षण गर्दासमेत पुल स्याम्पप्लिङ टेष्ट पद्धति अपनाइने जानकारी उहाँले दिनुभयो । अहिले युरोपेली देशहरुमा यही पद्धतिबाट परीक्षण गरिएको छ ।
‘सबैको पिसिआर परीक्षण’ भन्ने कुरा अन्य हिसाबले पनि उपयुक्त नभएको स्वास्थ्य मन्त्रालय विज्ञ सल्लाहकार डा खेम कार्की बताउनुहुन्छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरस हावा पानी र खानाबाट नभई थुक र थुक लगाइरहने हात जस्ता अंगका माध्यमबाट सर्ने कुरा सार्वजनिक गरेको बताउँदै उहाँले अहिले अपनाइएको पद्धति सर्वाधिक उपयोगी रहेको बताउनु भयो । ‘एक मिटरको भौतिक दूरी कायम राख्ने, मास्स लगाउने र हात साबुनले धुने वा स्यानिटाइजर प्रयोग आदि नै संक्रमणबाट बच्ने सर्वोत्तम उपाय रहेको देखिन्छ’ , उहाँले भन्नुभयो ।
सबैको परीक्षण गर्दा देशमा भएको साधनको सही उपयोग समेत नहुने भनाइ उहाँको थियो । एक नमुना परीक्षणको लागत झण्डै १३ हजार परिहेको पनि डा. कार्कीले बताउनु भयो । ‘देशमा अहिले कोरोना संक्रमणको स्रोत् नै विदेशबाट आएका नागरिक भएकाले उनीहर र उनीहरुको निकट सम्पर्कमा रहेका बाहेक अरुको पिसिआर टेष्ट आवश्यक देखिन्न’, उहाँले भन्नु भयो ।
नेपालको परीक्षण प्रगति अन्य देशको तुलनामा राम्रो मानिएको पनि डा कार्कीले बताउनुभयो । ‘पहिलो संक्रमण यहाँ हुँदा देशमै परीक्षण किट नभएर विदेश पठाउनु परेको थियो । तर अहिले देशका १७ स्थानमा पसिआर टेष्ट भइरहेको छ जुन उत्साहप्रद प्रगति हो’
प्रतिक्रिया