यसवर्षको रमजान घरमै मनाऔं : समिम मियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ: मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी देशका सबै मुस्लिम धर्मावलम्बीलाई यसवर्ष रमजानका सबै कार्य घरमै बसेर मनाउन र देशले कोभिड १९ संक्रमणसँग जुध्न अपनाएको भौतिक दूरी कायमै राख्न आह्वान गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयले आज अपरान्ह आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै अन्सारीले यसै अवसरमा मनाइनेर रमजानको अघिल्लो राती पढिने तारवी नमाज समेत घरमै पढ्न  आग्रह गर्नुभयो ।

अहिलेको अवस्थामा सम्पूर्ण मुस्लिम दाजुभाइ र दिदीबहिनीलाई आआफ्नो घरबाटै यो वर्षको रमजान मनाउन  आग्रह गर्छु, उहाँको भनाई थियो ।
साथै अंसारीले यो वर्ष मस्जिदमा धर्मगुरु र कमर्चारी गरी पाँच जनाले मात्रै नमाज पढने जानकारी पनि दिनुभयो ।
कोरोना भाइरसले कुनै पनि जाति, धर्म, लिङ्ग र वर्णलाई नछोड्ने बताउँदै अन्सारीले यसबाट आफू कसरी बच्ने र सिङ्गो देशबासीलाई कसरी बचाउने भन्नेतिर लाग्नुपर्ने उहाँको कथन थियो ।
केही दिन यता जमाती समुहका सदस्यमा कोरोना भाइरस देखिएको प्रति औंल्याउँदै उहाँले तिनका अगुवालाई समेत बोलाएर सबैको स्वाब परीक्षण गराउन लगाएको र हरेक जिल्लामा रहेका मदरसा र मस्जिदमा अनुगमन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
गत मंगलबार काठमाण्डौमा रहेका मस्जिदहरुको अनुगमन गरिएको र अन्य जिल्लामा समेत अनुगमनका लागि जिल्ला समितिहरु गठन गरेर बिहीबारदेखि अनुगमन सुरु गरिसकिएको पनि उहाँले बताउनुभयो ।
लकडाउन सबैले पूर्ण रुपमा पालना गर्नुपर्छ । यो समुदाय, त्यो समुदाय भन्नुभन्दा सबैले जथाभाबी बाहिर नगई भिडभाड नगरी घरमै बस्यो भने हामी सुरक्षित रहन्छौँ , उहाँले भन्नुभयो। उहाँले लकडाउनको पुर्ण पालना देशप्रति रहिआएको बफादारी प्रकट गर्ने अवसर समेत भएको उहाँले बताउनुभयो ।