। भौतिक पूर्वाधार र सम्पदा पुर्ननिर्माणसँगै स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएको छ काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि आर्थिक सहयोग दिएको छ ।
काठमाडौँ महानगरपालिकाकाले आज सो केन्द्रको धम्महल भवन निर्माणका लागि रु ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकम बरावरको चेक केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई हस्तान्तरण गर्नुभयो । महानगरको वडा १० शंखमुलमा ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको सो केन्द्रलाई चेक हस्तान्तरपछि सम्वोधन गर्दै मेयर शाक्यले बुद्धको देश भनेर विश्वभर चिनाउन अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रले निकै ठूलो योगदान गरेको भन्दै यस्तो संस्थालाई महानगरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
‘काठमाडौँ महानगरपालिकाले यस अघि पनि अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाका लागि पाठ्यसामग्री छपाई, दिक्षान्त समारोह, नैतिक आचरण शिक्षाका लागि गरिने विभिन्न कार्यक्रमलगायतका लागि रु २३ लाख ६५ हजार आर्थिक सहयोग गरिसकेको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘बिश्वभरका बौद्धमार्गीहरु नेपाल घुम्न आउँदा पुग्ने बुद्धजन्मस्थल लुम्बिनीमा निर्माण भैरहेको नेपाल बज्रयानी महाविहारलाई पनि महानगरपालिकाले आर्थिक अनुदान दिने भएको छ ।’ मेयर शाक्यले भौतिक पूर्वाधार विकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुननिर्माणसँगै स्वास्थ्य सेवा र सामाजिक सेवाका क्षेत्रमा पनि सहयोग गर्ने हेतुले यस्तो सहयोग गरेको बताउनुभयो ।
‘काठमाडौँ महानगरपालिका संघीय राजधानी पनि हो । यहाँ दैनिक लाखौँ मानिसलाई सेवा दिनुपर्ने हुन्छ,’ मेयर शाक्यले भन्नुभयो, ‘त्यसैले यहाँको मेयरले आफ्नो नगरका लागि मात्रै सोचेर हुन्न । मुलुकभरीबाट यहाँ आएका जनताको समेत सेवालाई ध्यान दिनुपर्ने भएकाले स्वाभाविकै रुपमा अपेक्षा पनि बढी हुन्छ ।’
मेयर शाक्यले संघीय राजधानीको मेयरसँग अलिक बढी नै अपेक्षा हुने भएकाले पनि सबैको अपेक्षा अनुरुप काम गर्न कठिनाई भएको स्वीकार गर्नुभयो । ‘कतिपय सन्दर्भमा चाँहि यो पनि भएन त्यो पनि भएन भनेर आलोचना मात्रै गर्ने तर के–के गर्नु पर्यो त भनेर सुझाव माग्दा यो गर्नु पर्यो भनेर भन्न नसक्ने प्रवृत्ति कारण समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘काम गर्ने शिलसिलामा केही कमजोरी हुन सक्छन् । हामी सच्याएर जान तयार छौँ । तर, गरेका कामको जस दिने हो भने हामीलाई काम गर्न थप उत्साह हुने थियो ।’ उहाँले आफु मेयर निर्वाचित भएर आएपछि धेरै सकारात्मक काम गरेको दाबी गर्नुभयो ।
केन्द्रका अध्यक्ष ताम्राकारले काठमाडौँ महानगरले सम्पदा संरक्षणसँगै विकास निर्माणका काममा निकै ठूलो योगदान गरेको बताउनुभयो । उहाँले महानगरले गरेको आर्थिक सहयोगबाट आफुहरु निकै उत्साहित भएको भन्दै सामाजिक सेवा र बौद्ध दर्शनको प्रवर्धनका लागि काम गर्न थप सहयोग पुग्न विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सांसद गणेशप्रसाद दुलाल, उपमेयर हरिप्रभा खड्की श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।
प्रतिक्रिया