सबै सवल भएमात्र समृद्धि : मन्त्री नेम्बाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सवल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताउनु भएको छ । बुधबार गृहजिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १ र २ लाई अँध्यारोमुक्त घोषणा गरिने कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
मुलुकका सबै क्षेत्रहरुलाई सवल र समयानुकुल बनाउन सकेमात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहका सबै क्षेत्रमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङको भनाई छ । सरकारको प्रयासकै कारण विकास निर्माणका कार्यहरु तथा सेवा प्रवाहका क्षेत्रहरुमा परिवर्तन आएको मन्त्री नेम्वाङले वताउनुभयो ।
मन्त्री नेम्वाङले ठूला पूर्वाधारका आयोजना, विकास निर्माणका अन्य योजना र सेवा प्रबाहका क्षेत्रमा सरकारले एकैसाथ सुधारको प्रयास गरिरहेको वताउनुभयो । “सल्लाको दीयालो बाल्नुपर्ने अवस्थाको अन्त्य भयो । अब विदेशबाट आयातीत ग्याँसबाट खाना पकाउनुपर्ने, दाउराबाट खाना पकाउनेपर्ने अवस्थाको पनि अन्त्य गर्छौँ”, मन्त्री नेम्वाङले भन्नुभयो, “अब आफ्नै पानीबाट उत्पादित विद्युत चुला चौकामा पु¥याई त्यसैबाट खाना पकाउने प्रवन्ध सरकारले गर्छ ।”
मन्त्री नेम्वाङले देशका ४० वटा जिल्लामा पूर्ण विद्युतिकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढेको जानकारी दिनुभयो । यही कार्यक्रमअन्तर्गत पाँचथरमा चालु आर्थिक वर्षमा सरकारले करीब रु. १ अर्ब ५० करोड बजेट विद्युतिकरणका लागि छुट्ट्याएको मन्त्री नेम्वाङले वताउनुभयो । उहाँले १÷२ वर्षमै पाँचथर जिल्लालाई अध्यारोमुक्त जिल्ला निर्माण गर्ने कार्यमा जुट्न आग्रह पनि गर्नुभयो । आफूले विद्युतिकरणका लागि जिल्लामा निरन्तर अगुवाई गरेको र जिल्लाका वडा तथा स्थानीय तहहरु क्रमशः अध्याँरोमुक्त घोषणा हुँदा आफूलाई सबैभन्दा खुसी मिलेको मन्त्री नेम्वाङले वताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न ७ वटा राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणको कार्यलाई द्रूत गतिमा अघि बढाउन आफूले निरन्तर अनुगमनको कार्य गर्दै आएको वताउनुभयो । उहाँले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सहित पूर्वी पहाडका विशेष महत्वका तमोर कोरिडोर सडक, मदन भण्डारी सडक, राँके–रबी–भेडेटार सडक, पाथीभरा मन्दिर ताप्लेजुङ सडक निर्माणलाई समेत आफूले विशेष चासो दिएको वताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णुप्रसाद सापकोटाले मन्त्री नेम्वाङकै अगुवाईमा जिल्लामा विद्युतिकरणको सुरुआत भएको र अहिले उहाँबाटै विभिन्न वडाहरुलाई अध्याँरोमुक्त वडा बनाउने कार्य अघि बढ्नु सुखद् संयोग रहेको वताउनुभयो ।
हिलिहाङ गाउँपालिका वडा नं. १ र २ का करीब १ हजार २ सय घरमा विद्युतिकरणको कार्य पूरा भई वडाहरुलाई अध्याँरोमुक्त वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष भूवानीप्रसाद लिङदेनले जानकारी दिनुभयो । यी वडाहरु कुल रु. ८ करोड ८० लाख ६० हजारको लागतमा विद्युतिकरणको कार्य पूरा भएको हो । विद्युतिकरणका लागि नेपाल विद्युत प्राधिकरण फिदिम वितरण केन्द्रले रु. १२ लाख बराबरको प्राविधिक सहयोग, नेपाल विद्युत प्राधिकरण इलाम कार्यालयबाट रु. २० लाख, काबेली कोरिडोर परियोजनाबाट रु. २ करोड ८० लाख, काबेली ए जलविद्युत परियोजनाबाट रु. ७६ लाख, हिलिहाङ गाउँपालिकाबाट रु. ७४ लाख, अरुण काबेली जलविद्युत आयोजनाबाट रु. ३ लाख ६० हजार, नेपाल विद्युत प्राधिकरणको सामुदायिक विद्युतिकरण कार्यक्रमबाट रु. २ करोड ९२ लाख र उपभोक्ताहरुबाट सङ्कलित रु. ३२ लाख ५० हजार रकम प्राप्त भएको हिलिहाङ गाउँपालिका वडा नं. १ वडाध्यक्ष गोपिकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लिङदेनका अनुसार हिलिहाङ गाउँपालिकाको वडा नं. १, २, ५ र ६ मा विद्युतिकरणको कार्य पूरा भएको छ भने वडा नं. ३, ४ र ७ मा विद्युतिकरणको कार्य धमाधम अघि बढिरहेको छ । आगामी छ महिनाभित्र विद्युतिकरणको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्री नेम्बाङले याङवरक गाउँपालिका ६ मा आयोजित अन्तर्राट्रिय कराते प्रतियोगिताको समेत आजै उद्घाटन गर्नु भएको छ ।
नेपाल सितोरियो कराते संघ डोजो नागी र मुकुबुङ युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा नेपालका विभिन्न स्थान र भारतको दार्जिलिङ, आसाम र सिक्किमबाट २ खेलाडी सहभागी रहेको आयोजकले उल्लेख गरेका छन् ।