पहाडी लोकमार्गमा अप्टिकल फाइबर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
टेलिकमले आज जारी गरेको प्रेश विज्ञप्ति अनुसार शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर भएको उल्लेख छ ।

सो अवसरमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालका लागि सरकारले पहिचान गरेको आधार स्तम्भ निर्माण गर्ने र विभिन्न पूर्वाधारको सह–प्रयोगका लागि यस आयोजनाले सहयोग गर्ने बताउदै यस्तो महत्वपूर्ण जिम्मेवारीलाई कम्पनीले समयमै पुरा गर्ने अपेक्षा ब्यक्त गर्नुभएको पनि विज्ञप्तिमा जनाइएको छ ।

हस्ताक्षर पछि बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो आयोजनाले सुदूरपश्चिम र कर्णाली जस्ता विकट र चुनौतीपूर्ण क्षेत्रमा सञ्चार सुविधा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने र तोकिएको समयमा गुणस्तरीय र मापदण्ड अनुरुपको नेटवर्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

सम्झौतामार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य नेपाल टेलिकमको छ । रुकुमको मुसिकोट देखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला सहित बाँके र बर्दिया जिल्ला समेत गरी २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

यस आयोजना अन्तर्गत करिब २ हजार ४ सय किलोमिटरमा अन्डरग्राउन्ड, एडीएसएस फाइबर तथा डिरेक्ट बरिड केबल तथा विभिन्न साइटहरुमा डीडब्ल्युडीएम, राउटर तथा माइक्रोवेभ सञ्चालन गरी नेटवर्क विस्तार गरिने छ । मध्य पहाडी लोक मार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइबर नेटवर्क न्यूनतम ९६ कोरको हुनुको साथै जिल्ला सदरमुकाम र नगरपालिका सम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने योजना पनि प्राधिकरणको छ ।