नेपाल भ्रमण वर्षलाई सफल बनाउन देशमा पहिलो पटक विश्वभरका ३ सय भन्दा बढी नगर प्रमुखहरु लाई आमन्त्रण गरी अन्तर्राष्ट्रिय मेयर सम्मेलन –२०२० आयोजना गरिने भएको छ ।
काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकाका संयुक्त मञ्च उपत्यका नगरपालिका फोरमको आयोजनामा यस्तो सम्मेलन हुन लागेको हो
यसबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चार दिने सम्मेलनमा काठमाडौं उपत्यकाभित्रका स्थानीय (नगर) सरकारहरुका विदेशस्थित भगिनी शहरहरु, सार्क तथा दक्षिण/दक्षिणपूर्वी एशियाका राजधानी लगायतका प्रमुख शहर तथा युनेस्को र विश्व सम्पदा शहरहरुको संगठनमा आवद्ध सम्पदा शहरहरुका नगरप्रमुख, नीतिनिर्माता एवं योजनाविद्हरुलाई आमन्त्रण गरिने जानकारी दिइयो ।
सम्मेलनले ‘नेपाल भ्रमण बर्ष–२०२०’अभियानले निर्दिष्ट गरेको लक्ष्यलाई दरिलो टेवा दिनुका साथै बढ्दो शहरीकरण, सम्पदा संरक्षण तथा आर्थिक समृद्धि हासिल गर्न विश्वका विकसित नगरका प्रमुखहरुसँग अनुभवहरुको प्रत्यक्ष आदानप्रदान गर्न सकिने उल्लेख छ । यसबाट सहकार्य र समृद्धिप्राप्तिको नेपाली अभियानलाई समेत नयाँ गति दिने जानकारी पनि कार्यक्रममा दिइयो । दिगो रुपान्तरणमा ऐतिहासिक शहर तथा नगरहरुको मूल नाराका साथ सम्पन्न हुने अन्तर्राष्ट्रिय मेयर सम्मेलन’ले
विश्वका विभिन्न देशका नगरप्रमुख हरुबीच शहरहरुको दिगो रुपान्तरणसम्बन्धी अनुभवहरुको आदानप्रदान गर्ने, शहरीकरण तथा सम्पदा संरक्षणसित प्रत्यक्ष रुपमा सरोकार राख्ने पर्यावरणीय मुद्दाबारे समान धारणा बनाउन पहल गर्ने र शहरहरुबीच सामाजिक, साँस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यताहरु पहिल्याउने खालको संवादको शुरुवात्गर्ने उद्द्ेश्य लिएको जानकारी पनि कार्यक्रममा दिइयो
। यसै गरी सम्मेलनले समुदायको सशक्तिकरण तथा सुशासनको माध्यमले विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव बढाउने उदेश्यसमेत लिएको छ ।
सम्मेलन अवधिमा नगर प्रमुखहरुलाई विश्व सम्पदा सूची तथा देशभित्रका महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गराइने छ। अन्त्यमा काठमाडौं घोषणापत्र’ जारी गरेर सम्मेलनको समापन हुने जानकारी पनि कार्यक्रममा दिइयो ।
सम्मेलनलाई अपेक्षित रुपमा फलदायी बनाउने ध्येय लिइएको छ । साथै विभिन्न शहरहरुबीच भगिनी सम्बन्ध कायम गर्न तथा आपसी संवाद र सहकार्यको माध्यमले स्थानीय जनताको हितमा शहरहरुबीच सामाजिक, साँस्कृतिक तथा आर्थिक सहयोग अभिवृद्धि गर्नका लागि सम्मेलन अवधिमा द्विपक्षिय तथा बहुपक्षिय ‘साइडलाइन संवाद’ समेत गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
कार्यक्रममा सम्मेलनको ध्येयप्राप्तिका लागि सम्मेलनको आधिकारिक वेबसाइट को रुपमा www.imc-2020.org.np को औपचारिक शुरुवात गरिएको थियो साइटमा सम्मेलनबारे मात्र नभई, समग्र नेपालकै बारेमा समेत बढीभन्दा बढी सूचना सम्प्रेषण गराइने र निकट भविष्यमै अंग्रेजी लगायत विभिन्न सात वटा अन्तर्राष्ट्रिय भाषामा जानकारी राखिने पनि कार्यक्रममा बताइयो । साथै देशका १८ वटै नगरपालिकाको विस्तृत जानकारी पनि यसमा समावेश गरिने भएको छ ।
प्रतिक्रिया