धार्मिक पर्यटन माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यका साथ नुवाकोटका जिल्लाको शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सङ्गममा रहेको उत्तर प्रयाग त्रिवेणी धाममा यही माघ १६ देखि २४ सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइदै गर्न लागिएको महायज्ञमा विश्वविख्यात कथावाचका रूपमा रहेका ईश्वरकृष्ण महाराजले भागवत कथा वाचन तथा बौद्ध धर्मका प्रख्यात गुरु खेम्पो कमल भण्डारीले विशेष प्रवचन दिने कार्यक्रम छ ।
कार्यक्रम बारेमा जानकारी दिन आज रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका संरक्षक तथा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले बोल्दै भौगोलिक तथा धार्मिक दृष्टिकोणको एउटा महत्वपूर्ण त्रिवेणी धामको विकास गर्न र प्रचारप्रसार गर्न अनुष्ठान आयोजना गरिएको बताउनुभयो ।
धार्मिक पर्यटनका माध्यमबाट नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा हासिल गर्न र भ्रमण वर्षलाई सफल बनाउन पनि महायज्ञले सहयोग पुर्।याउने विश्वास उहाँले रहेको व्यक्त गर्नुभयो । धार्मिक तथा पौराणिक महत्वको उत्तरप्रयाग त्रिवेणी धाममा धार्मिक पर्यटन प्रवद्र्धन गर्न धर्मशाला, विभिन्न देवीदेवताका मन्दिर, ध्यान केन्द्रका साथै बौद्धमार्गीका लागि गुम्बा निर्माण गर्ने काम हुने उहाँको भनाइ थियो ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट क्षेत्र नं १ का संयोजक पदम उप्रेतीले मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिइरहँदा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्छ भन्ने मान्यताका साथ महायज्ञ आयोजना गरिएको बताउनुभयो । “पुर्खाले अन्त्येष्टिका लागि मात्र प्रयोग गर्ने गरेको धामलाई अब धार्मिक केन्द्र बनाउछौँ”, उहाँले भन्नुभयो, “मुलुकको विकासका साथै समृद्ध नुवाकोट निर्माण गर्न पनि महायज्ञ सफल हुनेछ ।”
कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकले धार्मिक सहिष्णुतालाई संरक्षण गर्न महायज्ञले सहयोग पु¥याउने बताउनुभयो । जिल्लाको विकासका लागि सत्ता र प्रतिपक्ष नभनी सहभागितामूलक ढङ्गबाट अगाडि बढिएको बताउँदै उहाँले तोकिएको लक्ष्य प्राप्ति गर्न महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भागवतका प्रमुख कथावाचक ईश्वरकृष्ण महाराजले प्राकृतिक तथा धार्मिक दृष्टिले त्रिवेणीधाम पवित्र रहेको बताउँदै यसलाई साँच्चै त्रिवेणी धाम बनाइने जिकिर गर्नुभयो । नुवाकोट जिल्लामानै पहिलो पटक भागवत बाचन गर्न पाँउदा खुसी लागेको बताँउदै कथावाचक महाराजले त्रिवेणीधाम साँच्चीकै सुन्दर र मनमोहक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले भागवत लाग्ने ठाँउ कस्तो रहेछ भनेर हेर्न जाने क्रममा त्रिबेणीधाममा पुग्दा साँच्चीकै मनमोहक लाग्यो, त्यसै बेला गाँउपालीकाका अध्यक्ष ज्युलाई जग्गा मिलाईदिनुस मेरो आश्रम त्यतै बनाउछु भनेको पनि छु”
बौद्धधर्म गुरु खेम्पो कमल भण्डारीले आठौँ शताब्दीमा बौद्धगुरु पद्मसम्भव नुवाकोट पुगेको प्रसङ्ग कोट्याउँदै यो विभिन्न धर्मगुरुको तपस्याभूमि रहेको बताउनुभयो । नुवाकोटले धार्मिक पर्यटनको अपार सम्भावना बोकेको उल्लेख गर्दै उहाँले महायज्ञबाट नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोग पुग्ने विश्वास गर्नुभयो ।
त्रिवेणी धामको प्रचारप्रसार, पूर्वाधार विकास तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न लिखु, सत्यावती (स्यालपिङ¬) र कन्यावती (खहरे) को सङ्गमस्थलमा महायज्ञ गर्न लागिएको त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका उपाध्यक्ष तथा श्रीमद भागवत मुल आयोजक समितिका प्रचारप्रसार संयोजक रामचन्द्र पाठकले जानकारी दिनुभयो ।
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले महायज्ञ पवित्र उदेश्य सहित आयोजना गरिएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
हिमवत् खण्डमा त्रिवेणी धाम
त्रिवेणी धाम नुवाकोट, शिवपुरी गाउँपालिकास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको शिवपुरीमा उद्गमस्थल रहेको सत्यवती, शिवपुरीकै चिसापानी भएर बग्ने लिखु र पञ्चकन्या गाउँपालिकाको इन्द्रेणी छहरा उद्गस्थल भएको कन्यावती खोलाको सङ्गमस्थल हो । यो शिवपुरी गाउँपालिकाका वडा नं ६ र ७ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ५ मा पर्छ ।
‘हिमवत खण्ड’मा उल्लिखित सो धाम समुद्री सतहबाट ७०० मिटर उचाइमा छ । राजधानी काठमाडौँबाट २५ किमी उत्तर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट ३० किमी पश्चिम र नुवाकोट सदरमुकाम विदुरदेखि २० किमी पूर्वमा त्रिवेणी धाम छ । सो धाममा पौष कृष्ण औंसीमा स्नान गर्नाले पुण्य मिल्ने जनविश्वास छ । यस्तै यहाँ पितृको श्राद्ध गर्नाले मोक्ष प्राप्त गर्छन् भन्ने मान्यता छ । त्रिवेणी धाममा कात्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीका दिन तथा मकर सङ्क्रान्तिका दिन स्नान गर्नाले पुण्य मिल्छ भन्ने पौराणिक विश्वास छ । धाममा हरिबोधनी एकादशीको दिन ठूलो जात्रा लाग्छ । भक्तजनले नारायणपूजा गरी ल्याएको तोरण त्रिवेणी खोलामा टाँगेर स्नान गरे पुण्य प्राप्त हुने विश्वास गरिन्छ । शिवरात्रि र तीजको व्रतका दिनमा यस स्थानमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजा हुन्छ । हरेक शनिबार यस धामको भजन घरमा भजन कीर्तन हुँदै आएको छ
प्रतिक्रिया