रिभिजिटिङ ; देश निर्माणको गोरेटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  • ‘सुरूमा लमजुङ्गको तर्फबाट गोर्खाराज्य विरूद्ध लडेका भक्ति थापा त्यही गोर्खाली अभियान आर्जित माटो जोगाउने क्रममा शहीद भए ।’– पृथ्वीनारायण शाहको अभियान गोर्खाको राज्य विस्तार मात्रै रहेछ र ?

  • सन् १८१४ को लडाई र विसं. १८७१को पुष १८ र १९ गते रञ्जीत चौधरी लगायतका थुप्रै तराईवासीले संसारै निल्दै आइरहेको अंग्रेजबाट देश जोगाउन मेजर जनरल मोर्ले र कप्तान सिब्ली विरूद्ध लडेका् प्रमाण अझै पनि पर्सा गढीेले बोकिरहेको छ । –देश बनाउनुमा तराई/मधेशको योगदान कम रहेछ र ?

  • यस्तै विसं. १८१९ पुस २७ गते देखि माघ १० गतेसम्म बंगाली नबाव मीर कासिमलाई मकवानपुरमा, १८२४ असोज १५ गते अंग्रेज कप्तान किनलकलाई सिन्धुलिमा र १८७१ पौष २२ गते अर्का अंग्रेजी उडलाई नराईएको भए एकीकरण त त्यहीँ टुन्गिथ्यो नै, नेपालीका रूपमा आजसम्म स्वतन्त्र भएर बाँच्न पाउने अधिकार उतिखेरै गुमिसकेको हुन्थ्यो, देश त्यसै जोगिएको रहेछ र ?

  • खुकुरी खुडाँबोक्नेहरूको कुरा धेरै हुने गर्छ यहाँ । तर कप्तान किनलकलाई सिन्धुली गढीमा सिस्नोेले झोस्ने र तोपको गोला विरूद्ध बारूलाको गोलाको फायरिङ गर्नेहरूले नेपाललाई जित्न नसकिने देश बनाइदिए – शासकले मात्र देश जोगाएका हुन् र ?

  • विसं. १८०१ असोज १ मा नुवाकोट विजय गरेको गोर्खाली फौजले त्यहाँबाट मात्र सात कोश पर रहेको काठमाडौं विजय गर्न २५ वर्ष लगाएछन् – सानो दुःखले देश बनेको रहेछ र ?

पौने तीन सय वर्षेअघि देश जोड्नका लागि पुर्खाहरू हिँडे्को बाटोमा एकसरो नजर दौडाउँदा यस्ता प्रसंग भेटिन्छ । जसले नेपाल एकीकरण कुनै राजाको मात्र नभएर हरेक भूगोल, जाती र वर्गको भवना र योगदानबाट सम्भव भएको थियो भन्ने कुरालाई पुनर्पुष्टि गर्छ । नेपाल एकीकरणको पदमार्गमा भेटिएका त्यस्ता तथ्य यो वा त्यो भन्दै विभाजित गर्न खोज्ने वा त्यसैमा बहकिनेहरू स्तब्ध पार्दै नेपाली हुनुको गर्वबोध फेरि गराउँछ ।
यही पदमार्गलाई फेरि ट्रेस गरेर त्यसको स्वरूप र महत्व भावि पुस्तालाई सप्रमाण हस्तान्तरण गर्ने अभियान देशमा सुरू भएको छ । नेपाली सेनाको पहलमा सुरू भएको ले फेरि एक पटक नेपाल निर्माणको गौरवपूर्ण इतिहास ‘पुनरावलोकन’ हुँदैछ । जसले प्रत्येक नेपालीलाई विगतमा गोर्खादेखि सुरू भएर पश्चिममा सतलज पारी र पुर्वमा

टिष्टासम्म पुगेको अभियान नै आज आफ्नो स्वाभिमानसँग जोडिएको पुनः स्मरण गराउँने छ ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आफ्नो पदबहालीपछि जारी गर्नुभएको कमाण्ड मार्ग निर्देशनमा एकीकरण मार्गसम्बन्धी कार्यक्रम समेत समावेश थियो । त्यसै अनुरूप गत भदौदेखि नेपाली सेनाले इतिहासविद्सँग एकीकरणको बेलामा प्रयोग भएका मार्ग, ति मार्गमा अभियानको उद्देश्य प्राप्तीका लागि बनाइएका गढी, किल्ला, मन्दिर आदिको पहिचान र संरक्षण गर्ने उद्घोषसहित इतिहासविद्हरूसँग सहकार्य गर्न थाल्यो । त्यो सहकार्य पछि सँस्कृतिविद हुँदै स्थानीय सरकारका प्रमुख र वडा अध्यक्षतहसम्म पुग्यो ।
कामको ठोस सुरूवात गत पौष २७ गते अर्थात् राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसर पारेर सुरूमा एकीकरणको प्रस्थान विन्दु गोरखाबाट पदयात्रा सुरू गरी धादिङ्ग, नुवाकोट हुँदै काठमाडौंको हनुमान ढोकासम्म एकीकरण पदमार्गको पहिचान गरी त्यसमा पदयात्रा गर्नेसम्मको काम गरियो । पृथ्वीनारायण शाहकालीन सैन्य पोशाकमा उनले एकीकरणका लागि स्थापना गरेका पाँच सैन्य कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द वाणी र सबुजका झण्डासहित पद मार्गको यात्रा गरी कार्यक्रमको मूल सन्देश प्रवाह गरिएको थियो ।
यसपछि अझ ठोस र योजनाबद्ध ढंगले कार्यक्रम अघि बढेको छ । यसका लागि माघ २, ३ र ५ गते जंगीअड्डामा नेपाली सेना, इतिहास तथा सँस्कृतिविद्,स्थानीय सरकारका प्रतिनिधिहरू, पर्यटन व्यवसायीहरू समिनार आयोजना गरी एकीकरण अभियानको पहिलो लडाई भएको नुवाकोट गढीदेखि मधेशको मुख्य मोर्चाको रूपमा रहेको पर्सा गढीसम्मको महत्व, संरक्षण र भावी योजनाको प्रस्तुति सोही क्षेत्रका जनप्रतिनिधिमार्फत गराएको छ । साथै ति प्रस्तुतिकरणहरू माथि विभिन्न क्षेत्रका विज्ञ सम्मिलित छलफल गराई भावी लक्ष, योजना तथा कार्यक्रम तय गरिएका छन् ।
यो अभियानको सर्वाधिक ठूलो उपलब्धी भन्नु नै इतिहासको जर्गेना र त्यसलाई सकेसम्म यथा रूपमा भावी पुस्तालाई हस्तान्तरण गर्नु हो । त्यसबाट देशभक्ति र राष्टिय एकताको भावना बढनु र आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको गौरवशाली इतिहाससँग परिचित हुनु मौका दिइरहनु हो ।
यसका लागि सेमिनारले इतिहासका लिखित, अलिखित प्रमाणहरू संकलन गर्दै नेपाल एकीकरण पदमार्गसम्बन्धी ज्ञानलाई पुस्तकको रूप दिने भएको छ । इतिहासविद् दिनेशराज पन्तको नेतृत्वमा लिच्छवीकाल देखि पृथ्वीनारायण शाहअघि, पृथ्वीनारायण शाहको जीवन अवधि, रानी राजेन्द्र लक्ष्मी र बहादुर शाहको एकीकरण अभियान समेत गरी चार वटा अध्यायका प्रशंगहरू उल्लेख गरी २०७७ सालको सेना दिवसका दिन सार्वजनिक गर्ने लक्ष्यसहित पुस्तक लेखन सुरू भएको छ । र सँग सँगै गढी, एकीकरणसम्बद्ध वस्तुहरूको संग्रहालय तथा पद मार्ग पहिचान र संरक्षण पनि सुरू भएको छ ।

सँगै ऐतिहासिक पदमार्ग तथा स्थलको पहिचान र संरक्षणपछि त्यहा विभिन्न प्रवर्धनात्मक कार्यक्रमहर गरेर नेपाली जनतालाई देश निर्माणको त्यो जगसँग परिचित गराइराख्ने योजना सेनाको छ । यसका लागि नेपाल एकीकरणको प्रारम्भिक विन्दु मानिएको लिगलिग दौडदेखि आधुनिक कालका सबै खाले कार्यक्रमलाई समेटेको छ । साथै ति ठाउँहरूमा शैक्षिक म्रमण, फोटो शेशन, विभिन्न खेलकुद प्रतियोगिता मार्फत देशव्यापी प्रचार गर्ने साथै एकीकरण पदमार्गको डिजिटल प्रस्तुतिकरणहरूमार्फत सबै पुस्ताका नेपालीमा इतिहास चेतलाई जिवन्त बनाइ राख्ने सोच सेनाको छ । यसका लागि सैनिक मुख्यालयमा समन्वय कार्यालय पनि स्थापना गरिएको छ ।

इतिहास संरक्षण र पुस्तालाई हस्तान्तरणका साथै यसबाट राष्ट्रिय एकता बढाउने वृहत उद्देश्यका साथै नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिका लागि ठोस रूपमै योगदान दिने लक्ष्य पनि सेनाको छ ।