सबै सेना, प्रहरी वा सुरक्षाकर्मी करिअरवाला अनि कसैले पनि फिल्म लाइन बारे नसोच्ने । यस्तो बेलामा फिल्ममा भविष्य देख्ने छोरीको कुरा कसले पत्याओस् । अभिभावकसहित परिवार हरेक सदस्यसँग जुधेर जब कला क्षेत्रको बाटो तय गरेकी थिइन् लक्ष्मी बस्नेतले ।
अहिले फरक छ कुरा । संसारकै ठूलो फिल्म उद्योग भएको मायानगरी भनिने मुम्बईमा लक्ष्मील े प्रगतिका सिँढी चढ्न थालेपछि अभिभावकहरुको कुरा गराइनै अर्को भएको छ । उनीबेला निरुत्साहन गर्ने बोली आउँथे, अहिले प्रशंसा र प्रोत्साहन पाउन थालेकि छिन् ।
एक पटक उच्च स्थान बनाइसकेका ख्याति प्राप्त कलाकारका सन्तान (स्टार बेबी)हरुलाई समेत मुस्किल पर्ने बलिउडमा नेपालबाट र त्यो पनि कला क्षेत्रसँग कुनै साइनो सम्बन्ध नै नजोडिएको परिवारकी चेलीले एक पछि अर्को काम पाउन थालेकिछिन् । दिनको लक्षण बिहानले देखाए झैं माया नगरीमा उनको दीगो र प्रभावशाली यात्राको लक्षण भर्खरै रिलिज भएका म्युजिक भिडियोहरुले देखाउँदैछन् ।
विद्यालयमा अभिभावक दिवस र त्यस्तै गतिविधिहुँदा नाचगान, नाटक आदिमा सक्रियतापुर्वक भाग लिने लक्ष्मीलाई स्कुले जीवन सकिने बेलातिर लाग्यो, कला क्षेत्र नै मेरो गरिखाने बाटो हो । त्यतै होमिने निर्णय गरेर परिवारलाई भनिन् तर निराशाजनक उत्तर आयो । यद्यपी यस्ता उत्तरले उनको बाटो भने छेकेनन् । उच्चमाध्यमिक तहको पढाइसके पछि अभिनय र मोडेलिङलाई एक साथ अघि बढाइन् । हास्य श्रृंखलाहरु हुँदै शिव लामिछानेको जलजला र दीपक गिरी र दिपाश्री निरौलाको छ एकान छ सिनेमासम्म पुग्यो, उनको अभिनय यात्रा । त्यस पछि विज्ञापन र कोरियोग्राफि तर्फ हात हालिन् । वाइवाई चाउचाउ, डिस होम, बजाज बाइक लगायतका विज्ञापनमा काम गरेपछि म्युजिक भिडियो उनलाई चिनाउने अर्को मञ्च बन्यो । जहाँ उनले प्रमोद खरेल, स्वरुप कला राई र देविका वन्दनाका गीतहरुमा मोडेलिङ गरिन् र आफ्नो प्रतिभा थप तिखारिन् ।
यसै क्रममा करिब दुई वर्ष उनलाई भारतको विख्यात गहना ब्राण्ड तनिष्कको एउटा कार्यक्रममा गहनाका लागि मोडेलिङ गर्ने अफर आयो । यसैक्रममा बलिउडमा पहिलो पाइला हाल्न पुगेकी थिइन् लक्ष्मी । कारणवशः तनिष्कको त्यो कार्यक्रम त स्थगित भयो, तर उनको बलिउड यात्रा भने त्यहीँबाट प्रारम्भ भयो । सन् १९१९ मा भिकेज पनचेरन वेको फेसन क्यालेण्डरमा छापिएको उनको तस्विर मुम्बईमा सर्वत्र फैलियो । यससँगै वेभ सेरिजमार्फत बलिउडमै आफ्ना अभिनय प्रतिभा देखाउन थालेकी छिन् ।
https://m.youtube.com/watch?fbclid=IwAR3I0S33R4lc3jBxqFNeDlyckj2vnKi0igQUHxz1zeJ4Gbvor0otDzhyGlw&v=2_21xxNENSw&feature=youtu.be
यो लगाव र मेहनतको पहिलो फल ठूला ब्यानरका कम्पनीले म्युजिक भिडियोका लागि अफर गर्न थालेका छन् । एलएस प्रोडक्सन हाउसले बनाएको अगली दफा उनको बलिउड यात्राको पहिलो कोशे ढुंगो बन्न पुगेको छ । यसपछि लिट एएफ शीर्षकको अर्को म्युजिक भिडियो फेब्रुअरीमा आउँदैछ ।
लक्ष्मीको बलीउड करिअरको बिहानीले राम्रो बिहानी देखाएको छ । दिन त्यसै अनुरुपको राम्रो बन्नेमा उनी शत प्रतिशत आशावादी छिन् । बलिउडमा छिर्न र त्यसपछि स्थापिन हुन सगरमाथाको आरोहण भन्दा कम कठिन छैन भन्ने कुरा उनले बुझेकि छिन् । त्यसैले आफ्ना हर कमजोरीलाई जित्दै यात्रा गर्ने सोचाइ उनको छ ।
अहिलेलाई उनको बोलिमा ठेट हिन्दीपन ल्याउनु छ, त्यसो भयो भने उनले थप उचाई चढन सक्छिन् । त्यसैका लागि उनी उर्दू कक्षामा भर्ना भएकी छिन् । उनको लगावले यस्ता धेरै कुरा सिक्न र अनुभव लिन घरी घरी प्रेरणा दिईरहन्छ ।
प्रतिक्रिया