![]()
![]()
![]()
![]()
कुन कुन बाटो हिँडेर देश यहाँसम्म आइपुग्यो ? के कस्ता कारणले एउटा परिवार एक शताब्दी बढी समय सम्म देशको सर्वोच्च शक्ति बनेर बस्यो ? किन सिंहदरबार देशमा शक्ति र सत्ताको मिथक मानियो ?
यस्ता प्रश्नहरुको उत्तर मात्र होइन अबको यात्राका लागि चाहिने थुपै सन्दर्भ सामग्री र सूचना सिंहदरबारको सिंहावलोकनमार्फत प्राप्त गर्न सकिन्छ । भुकम्पले हल्लाएको सिंहदरबारको एक मात्र मौलिक भागको प्रबलीकरणले अबको पुस्तालाई त्यस्तो अवसर दिँदैछ ।
एउटै भवनमा १४ सय कोठा र अलग अलग सात वटा चोक । अहिलेको भन्दा कति भव्य देखिन्थ्यो होला २०३० साल असार अघिको सिंहदरबार ? यो इतिहास भइसकेको त्यो सिंहदरबारको कुरा छोडौं, यहाँ त त्यतिबेलाको आगलागीबाट बचेको पश्चिमी टुक्रामात्र जोगाउन पनि महाभारतको युद्ध लडे सरह भएको छ राज्यलाई ।
सिंहदरबार । अर्थात् देशको कार्यकारी शक्ति केन्द्र । अर्को शब्दमा भन्दा राजधानी भित्रको पनि राजधानी । कसैलाई फेदीबाट शिखरमा पुर्याउने तर कसैलाई शिखरबाटै फेदिमा झारिदिने शक्ति भएको स्थान । नयाँ संविधान जारी भएपछि गाउँगाउँमा सिंह दरबार पुर्याउने त्यसै भनिएको होइन । जहाँ शक्ति हुन्छ, त्यहीँ सिंहदरबार । अहिले त्यही सिंहदरबारको मौलिक भागलाई बलियो बनाउन राष्ट्रिय पुनिनिर्माण प्राधिकरण लागि परेको छ ।
भूकम्पअघि नै चुहिएको छानो
शक्ति र सत्ताको परिचय बोक्ने यो सिंहदरबारकै परिचय बोक्ने मौलिक भाग अर्थात् पश्चिम लंङको भवन २०७२ सालको भूकम्प पछि निरिह बन्न पुग्यो । चिरा चिरा भएको जीर्णकाय सिंहदरबारले भुकम्प पछिका तीन वटा वर्षा र हिँउदभर ओत समेत पाएन । राज्यको सर्वोच्च शक्तिको प्रयोगबाट निर्मित सिंहदरबारलाई भूकम्पले महाभारतको लडाईमा बेलुकी पखको अर्जुनको रथ जस्तै पारिदयो । जता ततै चिरै चिरा घाउ नै घाउ । ति चिराबाट पानी छिरेर भित्र सम्मै पुगे भत्केका ठाउँ झै भत्किए । एक्पोज भएका काठहरु कुहिन सुरु गरे भूकम्पले भन्दा त्यसपछि बेवास्ताले अझ थिलथिलो बनायो सिंहदरबारलाई । झ्यालहरुका दायाँ बायाँ रहेका टेराकोटे सुन्दर स्त्री प्रतिमाहरु माथि हरियो लेऊ लाग्यो ।
‘यस्तो सिंहदरबारलाई यत्तिकै राखेर प्रबलीकरण गर्ने कि जगै देखि भत्काउने ?’, यसमा गलफत्ति गर्नेहरुले गरिरहे । त्यो गलफलतले गराएको ढिलाइको क्षति भने सिंहदरबारले मात्रै भोग्यो । जिम्मेवार पदमा बसेका केही व्यक्तिहरु भत्काउने तर्फ जोड गर्न थाले बेलायतको बर्किङम र फन्सको मोर्सले दरबारकै स्वरुपमा र त्यत्तिकै गौरव बोक्ने नियो क्लासिकल यो भवनलाई जगैदेखि भत्काउनुको अर्थ एउटा जिवित इतिहासलाई खरानी पार्नु सरह हुन्थ्यो । जुन त्यसैको नक्कल गरेर त्यही ठाउँमा बनाइने अर्को भवनले किमार्थ पूरा गर्न सक्तैनथ्यो । देशमा सर्वाधिक महत्व राख्ने विगत एक शताब्दीको इतिहास पढन खोज्नेहरुको हातमा ‘सेकेन्डरी डेटा’ मात्र हातलाग्ने स्थिति हुन्थ्यो ।
सिंहदरबारको त्यो भागको समस्या भुकम्पअघि देखिकै थियो । दलिनका काठहरु मक्किने र कुहिने गर्न थालेका थिए भने टायल इँटाबाट निर्मित छानोबाट यत्र तत्र चुहिन्थ्यो तर भवन विशालकाय भएकोले धेरैको ध्यान जाने गरेको थिएन । जसलाई सिंहदरबारको त्यो अवस्था थाहा थियो, उनीहरुलाई त्यसको पुरातात्विक महत्वको अनुभूति नै थिएन् । उनीहरु त्यो भवनमा सिमेन्टका संरचना घुसाउन चाहन्थ्ये जे गर्नुपर्छ सिमेन्ट र फलामले गर्ने उनीहरुको धारणा थियो । पुरातत्व विभागले आपत्ति जनाउँथ्यो र सिमेन्ट घुसाउने योजना रोकिन्थ्यो। यसबाट मुर्मुरिएका पदाधिकारीलाइृ कसैले सन्क्याउँथ्यो, ‘भूकम्पले जगैसम्म गल्र्याम्म ढालेपछि तिमिले जसरी बनाए पनि कसैले केही भन्दैन’ ।
बल्ल बल्ल प्रबलीकरण
तर सिंहदरबार उनीहरुले चाहेजस्तो गरी गल्याम्म ढलेन बरु चिराहरु लिएर बुढो शरीर जस्तै त्यहीँ बसिरह्यो । त्यसैमाथि ड्रोजर गुडाएर ढाल्ने कतिपयको योजनालाई सम्पदा प्रेमीहरुको सचेत प्रयत्नले रोक्यो । पानी र्छिन नदिन सिंहदरबारलाई प्लाष्टिक ओढाइयो वरिपरी फलामे खटहरुले ढाकेपछि कंक्रिटका छत मुनी बहस हुन थाले, कसले गर्ने, कहिले गर्ने र कसरी गर्ने ? समय घर्किदै गएर सिंहदरबारको पश्चिमी भागको त्यो भव्यता पनि आगलागी काण्डपछि जन्मेका पुस्ताका लागि १४ कोठा र सात चोक जस्तै किंवदन्ती भएर जाने सम्भवना भने बढदै थियो ।
यस्तै अवस्थाका बीचमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले गत असोज २७ गते देखि सिंहदरबारलाई मौलिक स्वरुपमै मर्मत प्रबलीकरण गर्ने कार्यको सुरुवात गर्यो । केन्द्रीय योजना कार्यान्वयन इकाइमार्फत काम थालेको दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यसहित थालिएको प्रबलिकरणको उद्देश्य छ, ‘सिंहदरबारलाई त्यसको मौलिक स्वरुपलाई जोगाउँदै भुकम्प अघिको भन्दा बलियो र प्रयोग गर्नसकिने भवनमा परिणत गर्ने ।’ काम थालियो, सिंहदरबारको अहिलेको अवस्थाको जाँचबाट ।
काम थाल्दा प्रष्टै देखिन्त्यो, सिंहदरबारको छानो भूकम्पभन्दा अघिबाटै चुहिन थालेको रहेछ । भूकम्पले त्यसलाई त बढायो नै अरु थप ठाउँमा चिरा पार्यो । दलिन र खाँबोहरु भाँचिए, कलात्मक खम्बाहरुले ठाउँ छोडे त्यो भन्दा बढी चिराबाट छिरेको पानीले भित्रसम्म बिगार्यो ।
जब जागे तब सबेरा ।
प्रबलीकरणको ढिलाइले सिंहदरबारमा जति क्षति हुनु थियो भइगयो । अब ढिलाई नगरी सिंहदरबारलाई प्रयोगयोग्य तुल्याउन लागिपरेका छन् प्राधिकरण अन्तर्गतको सिएलपिआई टिम र पुरातत्वविद्हरु । तर चुनौति भने सिंहदरबार जतिकै भीमकाय छ । एकातिर प्रबलीकरणमा सलग्न टोलीका लागि यस्तो ठूलो परिमाण र सौन्दर्य प्रति संवेदनशील हुनुपर्ने संरचना पहिलो हो । अर्को तर्फ पुरातत्व विदहरुका लागि पनि युरोपेली नियो क्लासिकल शैलीको सिंहदरबारको वास्तुकला अरु पुरातात्विक वस्तु भन्दा नितान्त भिन्न रहेको स्थिति ‘सिंहदबारमा भेटिने प्रत्येक वस्तु वा संरचनालाई संवेदशीलतापुर्वक विचार गरेर प्रयोग गर्नुपर्ने अवस्थामा हामी छौं’, इकाइका परियोजना निर्देशक नवराज प्याकुरेल बताउनुहुन्छ ।
कारण स्पष्ट छ, सिंहदरबारका प्रत्येक चिजले श्री ३ चन्द्रशमशेर सर्वोच्च शक्तिशाली भएको बेला देखि पछिल्लो राजनीति घटना क्रमका प्रमाण र साक्षीको काम गर्छन् । सिंहदबारको बाहिरी र भित्र भागहरुमा प्रयुक्त वास्तुकला, फोहरासहितको स्टेट हल, सयौं विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग वार्ता गरिएको बेलायती बैठक, भित्ताहरुका बहुमल्य चित्र, ऐना, लोपउन्मुख जनावरका छाला, नेपालकै सबै भन्दा ठूलो मानिएको कार्पेट र इतिहाससँग
सात्क्षात्कार गराउने सयौं वस्तु।
राणा शासकले मनमा लागेको जे पनि गर्न सक्ने समयमा सिंहदरबारमा ल्याइएका ति वस्तुहरुको यथास्थितिमा संरक्षण अहिलेको पुस्ताको अनिवार्य कर्तव्य भित्र पर्छ । त्यसैले सिंहदरबारेका प्रवलिकरण सामान्य इन्जिनिरिङ वा पुरानो संचनाको जिर्णाेद्धार मात्र नभएको भनाई प्याकुरेलको छ । ‘सबै भन्दा बढी चन्द्र शमशेर र त्यसपछि प्रधानमन्त्रीहरुले सिंहदरबारमा भित्र्याएका बहुमूल्य वस्तुहरुलाई लक गरेर राखियो । त्यसो गर्दा कयौं वस्तु त्यसै विग्रिएर गए । अब कसरी त्यसो हुन नदिने सोच्नुपर्छ’, प्याकुरेलको भनाई छ । सिंहदरबार भित्रै कुनै संग्रहालय बनाएर नयाँ पुस्तालाई देखाउन सकिने पनि उहाँ बताउनु हुन्छ ।
यही पृष्ठभूमिमा गरिएको प्रबलीकरणको सुरुवातमा पाएका सम्पूर्ण चिज वस्तुको अवस्था सहितको अभिलेख राखिएको थियो। अब भने संरचनाहरुका बाहिरी पाप्रो उप्काएर भूकम्पले पारेका चिराहरुको गहिराइ र असर थाहा पाउने काम हुँदैछ । यसपछि सोही अनुरुप मर्मत अघि बढाइने उहाँ बताउनु हुन्छ । यसबीचमा पनि कलात्मक संरचना जोगाउनु पर्ने चुनौति पाइलै पिच्छे आउने गरेको उहाँ बताउनु हुन्छ ।
यथासम्भव मौलिक स्वरूप
सिंहदरबारले भूगोलको अर्को तिरको पाटो अर्थात युरोपहुँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा देशलाई पहिलो पटक चिनाइएको युगको प्रतितिधित्व गर्ने बताउनुहुन्छ, पुनर्निर्माण प्राधिकरणमा कार्यरत सम्पदाविज्ञ भीष्म बाँस्कोटा । ‘राणाहरु युरोप जाँदा भाजुमान चित्रकार जस्ता कालिगढ समेत लिएर गएका थिए जसले त्यतिबेलाको सर्वाधिक सम्पन्न र शक्तिशाली बेलायतका प्रमुख वास्तु संरचनाबारे बुझे र फर्के पछि नेपाली सन्दर्भ अनुसार त्यसलाई प्रयोगमा ल्याए ।
त्यसैको एउटा परिणाम हो, विसं १९६० मा बनेको सिंहदरबार जुन सामान्य मानिसको बलबुता भन्दा धेरै पर १४ सय कोठा र सात वटा आन्तरिक चोकसहितको थियो । त्यतिबेलाकै प्रविधि प्रयोग गरेर जमिनको चिसो नआउने गरी वातानुकुलित बनाइएको सिंहदरबारले विसं २०३० को आगलागीमा ति वैभवशाली संरचनामध्ये पश्चिमी भागबाहेक सबै गुमाउन पुग्यो । अहिले
त्यस्तो संरचना बन्ने त परै जाओस्, भएकैलाई जोगाउन समेत ठूलो कसरत गर्नुपरेको अवस्था छ ।
अरु त अरु भवनको बाहिरी भागमा राखिएका टेराकोटा मूर्तिहरु र ढुंगाका कलात्मक स्लेटहरु नै जोगाउनु पर्ने अवस्थामा छ । यस्ता वस्तुहरु जोगाउन विगत देखि नै गम्भिर पहल नभएको प्रस्टै देखिन्छ । भवनको बाहिर प्रयोग गरिएका मौलिक प्रस्तर कलाको १० फिट भन्दा बढी लामो ढुंगाको स्लेटमा कालो इनामेल पोतिएको थियो । त्यसलाई देखाउँदै प्रबलीकरणमा संलग्न अर्की पुरातत्वविद् मंजरी प्रधान अत्यन्त मुल्यवान् यस्ता कलालाई इनामेल छोपेर राख्दा धेरै थोक गुम्छ भन्ने कुराको अनुभूति गराउनु पर्ने बताउनुहुन्छ, ‘त्यसका लागि यहाँका प्रत्येक वस्तुलाई मौलिक स्वरुपमै ल्याउने र संरक्षण गर्ने कार्यले मात्र इतिहासलाई सकेसम्म नजिकबाट बुझ्न खोज्ने आगामी पुस्ता प्रति अहिलेको पुस्ताले धर्म निर्वाह गरेको ठहरिने धारणा उहाँको छ ।
असोज यताका दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य राखेर गरिएको सिंहदरबारको प्रबलिकरणले यस्ता चिज बस्तुलाई अहिलेका पूस्ताको आँखा सामु ल्याउँदै छ, जुन राणा शासन भर जनताले देख्नै पाएनन् अनि राणा शासनको अन्त्य पछि बन्द कोटरी भित्र कैद गरेर राखिए । अहिले मौका आएको छ, देशको इतिहाससँग नयाँ पुस्तालाई सिंहदरबार र यसभित्रका सामग्रीमार्फत साक्षात्कार गराउने । यस्तो मौका दिने भुकम्प पनि सम्भवतः धन्यवादको पात्र छ
प्रतिक्रिया