शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले स्थापित प्रणालीले काम गर्न नसक्दा र कति पय पक्षमा समय अनुसार चल्न नसक्न त्रिभुवन विश्वविद्यालय उसिनेको चाउचाउ सरह(सिधा उभिन नसक्ने) बन्न पुगेको बताउनु भएको छ ।
विश्वविद्यालय सभाको शुक्रबार सम्पन्न साधारण वैठकमा बोल्दै मन्त्री पोखरेलले विगतमा उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रार जस्ता प्रमुख पदमा भागबण्डाका आधारमा नियुक्ति गर्दा यस्तो अवस्था आएको भनाई उहाँको छ । उच्च नेतृत्वले एउटै टिम सरह काम नै गर्न नसकेको धारणा मन्त्री पोखरेलको थियो । ‘ विगतमा भागबन्डामा पदाधिकारी नियुक्त गर्ने र निर्णयहरु सानो टिम बसेर टुंग्याउने अवस्था थियो, अब त्यस्तो भागबण्डाको अध्याय समाप्त भएकोे छ’, उहाँको भनाई थियो ।
विश्वविद्यालयको गरिमा कायम राख्न यसलाई (सेन्टर फर एकेडेकिक एक्सिलेन्स)प्राज्ञिक उत्कृष्ठताको केन्द्रका रुपमा विकास गर्नुपर्ने र त्यो कार्य कीर्तिपुरबाटै सुरु गर्नुपर्ने धारणा पनि उहाँको थियो ।
विश्वविद्यालयमा विद्यार्थी र सम्बन्धन प्राप्त क्याम्पसको संख्या बढदो क्रममा रहेको बताउँदै मन्त्री पोखरलेले विद्यार्थीको ठूलो संख्या गर्वको विषय भए पनि व्यवस्थापन योग्य भने हुनुपर्ने धारणा राख्नुभयो । बढ्दो क्रममा रहेको विद्यार्थी संख्या र क्याम्पस तथा देशभर छरिएर रहेको स्थितिले विश्वविद्यालयको व्यवस्थापकीय र प्रशासनिक कार्यहरु समस्याग्रस्त बनेको भनाई पनि मन्त्री पोखरेलको थियो ।
यसका लागि त्रिविलाई क्रमशः विकेन्द्रित गर्दै लगेर हरेक प्रदेशमा ५ हजार भन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसलाई मानित विश्वविद्यालय –डिम्ड युनिभर्सिटी) मा रुपान्तरण गर्नुपर्ने धारणा पनि उहाँको थियो।
विभिन्न खालका राजनीतिक महत्वाकांक्षाको थलो बन्न पुगेका कारण पनि विश्वविद्यालयमा नियमित पठन पाठन तथा अनुसन्धानमूलक गतिविधिमा निराशा छाउन थालेको भनाई उहाँको थियो ।
सभामा विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयले अघि सारेको टियु भिजन २०३० का लक्ष्य पुरा गर्न विश्वविद्यालयको भौतिक पुर्वाधारमा सुधार, प्रविधिको व्यापक प्रयोग, अनुसन्धान कार्यलाई प्राथमिकता र शैक्षिक पात्रो निश्चित गरी कडाइका साथ लागू गरिने बताउनभयो । यसै गरी, परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रकरण, बजारमूखी र देशको आवश्यकता अनुरुप को जनशक्ति निर्माण, प्राध्यापकको क्षमता वृद्धि तथा उत्प्रेरणा, कलेजहरुको प्रभावकारी नियमन, पाठ्यक्रमको समयानुकल परिमार्जन तथा उच्च शिक्षालाई क्रमशः अन्तर्राष्टियकरण गर्दै लगिने भनाई पनि उहाँको थियो ।
कार्यक्रममा शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले विश्वविद्यालयले राजनीतिक तहबाट निरन्तर हस्तक्षेपको सामना गर्नु परेका कारण उचित ढंगले परिणाम दिन नसकेको बताउनुभयो । सभाले रजिष्ट्रार डिल्लीराम उप्रेतिबाट प्रस्तुत आर्थिक वर्ष २०७६ २०७७ को बजेट पारित गरेको थियो । त्रिविले आगामी वर्षका लागि विभिन्न शीर्षिकहरुका लागि कुल २३ अर्ब पाँच करोड रुपैया विनियोजन गरेको छ ।
प्रतिक्रिया