नारायणहीटीमा गोली चल्दा चल्दै ………………..

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभरका प्रमुख समाचार बन्ने गरी १८ बर्षअघि भएको राजदरबार हत्याकाण्ड बारे फरक तथ्यहरुसँग साक्षात्कार हुने पालो । घट्नाका प्रत्यक्षदर्शी सैन्य अधिकारी जो २०५८ जेठ १९ गते राती नारायणहिटी राजदरबारको विलियार्ड हलमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुनुहुन्छ, सुन्दरप्रताप राना अर्थात् तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी)।
विरेन्द्रको सुरक्षा जिम्मा लिएका उनैका सम्झनाहरुमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुने भएको छ ।
तत्कालिन राजा, रानी र युवराजको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घट्नाहरुका साक्षी पनि हुनुहुन्छ राना । त्यससम्वन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरु यो पुस्तकमा पढ्न पाइन्छ ।
‘राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरी मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,’ एडिसी राना भन्न्नुहुन्छ, ‘दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो ।’
प्रमुख एडिसी रानाले कूल १९ वटा अध्यायमा बाँडिएको यो पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घट्ना र त्यसपछिका दृश्यावलीको वर्णन गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हँुदाहँुदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ ।’


पुस्तक दरबार हत्याकाण्डको वरिपरीमात्र घुमेको छैन । तत्कालिन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाईहरु ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्वन्धलगायत थुप्रै निजी प्रसंगहरु पनि यसमा समाविष्ट छन् ।


राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिंदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्वन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइन्छ ।


समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।