लन्डनमा छुरा प्रहार बढेपछि सेनालाई गुहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन — लन्डनमा छुरा प्रहारका घट्ना बढेपछि यसले राष्ट्रिय राजनीतिसमेत तरंगित बनेको छ । प्रहरी कटौतीका कारण छुरा अपराध बढेको भन्दै प्रधानमन्त्री टेरेजा मेमाथि चौतर्फी दवाव थोपरिएको छ । 


यस मुद्दामा बेलायती सेनाले समेत चासो देखाएको छ । प्रधानमन्त्री मेले छुरा अपराधबारे छलफल गर्न मन्त्रीहरु, समुदायका नेता, पीडित आदि सरोकारवालासँग छिट्टै आफ्नो कार्यालयमा सम्मेलन गर्ने भएकी छन् ।

बि्रटिश रक्षामन्त्री ग्याभिन विलियमसन्ले बि्रटेनमा चक्कु प्रहारबाट खासगरी किशोर, किशोरीको ज्यान लिने घटनाहरु नियन्त्रण गर्न सघाउन सेना तयार रहेको बताएका छन् ।
बेलायती संसदमा मंगलबार राति भएको प्रश्नोत्तरमा बोल्दै मन्त्री विलियमसन्ले सरकारको कुनै पनि निकायलाई सघाउन रक्षा मन्त्रालय तयार रहेको बताएका हुन् ।
बि्रटेनको गृह मन्त्रालयले रक्षा मन्त्रालयसँग अझै औपचारिकरुपमा सहयोग मागेको छैन् तर मेट्रोपोलिटन प्रहरीकी प्रमुख क्रेसिडा डिकले छुरा प्रहारका बढ्दो घटनासँग जुध्न सेनाको सहयोगका लागि आफू इच्छुक रहेको बताएकी थिइन् ।
यो वर्ष दुई महिनायता लन्डनमा छुरा प्रहारका घटनामा २१ जनाको ज्यान गइसकेको छ जसमध्ये अधिकांश किशोर, किशोरी छन् ।
बुधबारमात्र पूर्वी लन्डनको लेटनमा एक युवामाथि छुरा प्रहार भएको थियो । गत फेब्रुअरीमा प्रकाशित एक तथ्यांकमा गत वर्ष इंग्ल्यान्ड र वेल्समा छुरा प्रहारबाट २८५ जनाले ज्यान गुमाएका उल्लेख छ जुन सन् १९४६ यताकै सबैभन्दा उच्च हो ।
बेलायती प्रधानमन्त्री मेले प्रहरीको संख्या कटौती र छुरा प्रहारका घट्नामा वृद्धिबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
विगत आठ वर्ष -सन् २०१०) यता इंग्ल्यान्ड र वेल्समा २० हजार भन्दा बढि प्रहरीको संख्या कटौती गरिएको छ । टेरेजा मेले गृहमन्त्री भएर ६ वर्ष काम गर्दा बजेटसंगै प्रहरीको संख्या अत्यधिक कटौती गरिएको हो ।
मेट्रोपोलिटन प्रहरीका पूर्वप्रमुख लर्ड स्टेभेन्सले प्रधानमन्त्री मेले प्रहरीको सरोकारका विषय नसुनेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन पनि प्रधानमन्त्रीको आलोचनामा उत्रिएका छन् । छुराबाट हुने अपराध नियन्त्रणमा प्रधानमन्त्रीले पर्याप्त कदम नचालेको आरोप कोर्बिनको छ ।
लेबर पार्टीका शीर्षस्थ सदस्यहरु, लन्डन मेयर सादिक खान र स्याडो पुलिसिङ मिनिस्टर लुइज हेगले प्रधानमन्त्री मेलाई पत्र लेखी युवाबीच बढिरहेको हिंसासँग जुध्न १० हजार नयाँ प्रहरी अधिकृत माग गरेको बीबीसीले जनाएको छ ।
इंल्याण्डकी एक वरिष्ठ प्रहरी अधिकृतले अपराध नियन्त्रणका लागि आपतकालिन बजेट माग गरेकी छन् ।नेशनल पुलिस चिफ्स काउन्सिलकी अध्यक्ष सारा थोर्नटनले बढिरहेको हिंसात्मक छुरा अपराध सामना गर्न यसलाई राष्ट्रिय संकटकालका रुपमा हेरिनुपर्ने तर्क समेत गरेकी छन् ।
तीव्र दबावबीच गृहमन्त्री सजिद जाभिदले छुरा प्रहारजस्ता अपराध नियन्त्रणमा जोड दिँदै प्रहरीले जनशक्ति तथा श्रोतबारे कुरा उठाउँदा त्यो आवाज सुन्नुपर्ने जनाएको बेलायती अखबारहरुले जनाएका छन् ।