च्याम्पियन्स लिग फुटबल : एउटा युगको अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याड्रिड — युरोपेली च्याम्पियनका रूपमा रियल म्याड्रिडका १ हजार ११ दिनमा मंगलबार राति पूर्णविराम लागेको छ । २ वर्ष, ९ महिना र ५ दिनअगाडि रियलले छिमेकी एट्लेटिको म्याड्रिडलाई मिलानमा हराएको थियो, सन् २०१६ को फाइनलमा ।

त्यसयता रियलले लगातार तीनपल्ट युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्यो । अन्ततः रियल यही प्रतियोगिताबाट बाहिरिएको छ । उसलाई यो चोट दिलाउने काम गरेको छ, अयाक्सले ।

यससँगै युरोपेली फुटबल र रियलसँग जोडिएको एक युगको अन्त्य पनि भएको छ । सान्टियागो सोलारीको टिम पहिलो लेगमा २–१ ले अगाडि थियो, तर घरमै भएको दोस्रो खेलमा टिम नराम्रोसँग ४–१ ले पराजित रह्यो । डच टिमले गज्जबसँग पछाडि परेको स्थिति उल्टायो । सोलारीले रियलको जिम्मेवारी लिएको पनि १ सय १३ दिनभन्दा बढी भएको छैन, तर उनको नेतृत्वमा रियलले दुई ठूला हार बेहोरेको छ युरोपमा । यसअघि रियल सीएसकेए मस्कोसँग ३–० ले पराजित भएको थियो ।
अहिलेको हारपछि खुबै नमीठो क्षण आइपुगेको छ । रियल ६ दिनअगाडि मात्र मंगलबार कोपा डे रेबाट पनि बाहिरिएको थियो । त्यति बेला उसलाई निराश पारेको थियो, पारम्परिक प्रतिद्वन्द्वी बार्सिलोनाले । फेरि घरेलु ला लिगामा रियल शीर्षस्थानमा रहेको बार्सिलोनासँग १२ अंकले पछाडि छ । एक समय अद्वितीय सफलताको यात्रामा रहेको रियल अन्ततः घोर निराशाजनक स्थितिमा पुगेको छ । यो उसले तय गरेको बाटो आफैंमा अविश्वसनीय पनि छ ।
सन् २०१५ को मे महिनामा पहिलोपल्ट युरोपेली फुटबलमा थिएन, अहिले ४६ महिनापछि त्यो कथा भएको छ । उसको अद्वितीय कथा सन् २०१५–१६ को सिजनमा सुरु भएको थियो, जति बेला उसले पहिलोपल्ट उपाधि ह्याट्रिकका लागि सफलता चुमेको थियो । सन् २०१० यता रियल कम्तीमा प्रत्येकपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । त्यति बेला भने रियल अन्तिम १६ मा लियोनको हातबाट पराजित रहेको थियो ।
त्यो त्यही वर्ष थियो । जति बेला क्रिस्टियानो रोनाल्डो रियलसँग पहिलोपल्ट आवद्ध भएका थिए । अब प्रश्न उठ्न सक्छ, साँच्चै रियलमा के खराबी भयो त ? त्यसको एउटा छोटो र सटिक उत्तर के हुनसक्छ भने रोनाल्डोले छाडेपछि रियल पहिला जस्तो टिम रहेन । स्पेनी मिडियाले रियलको अहिलेको स्थितिलाई विश्लेषण गर्ने प्रयास पनि गरेका छन् । एस र मार्काले आ–आफ्नो मत पनि प्रस्तुत गरेका छन् । त्यसको सार हो, प्रशिक्षक सोलारीमात्र होइनन्, अध्यक्ष फ्लोरेन्टिनो पेरेजको अन्तिम दिन सुरु भएको छ ।यस्तै स्थिति गारेथ बेल र अरू प्रमुख खेलाडीको पनि भएको छ । कप्तान सर्जियो रामोसले मंगलबारको खेल खेल्न पाएनन् । उनले जानाजान यो खेल नखेल्न पहिलो लेगमा पहेँलो कार्ड खाएका थिए । उनको रणनीति आखिरमा गलत साबित भयो र उनी अहिलेको हार दर्शकदीर्घाबाट हेर्न बाध्य भए, निराशाजनक रूपमा । स्पेनी फुटबल पत्रकार गुलियन बालागका अनुसार अहिले टिममा खेलाडीको मानसिकता नै खराब छ ।
उनका अनुसार अहिलेका केही खेलाडीलाई ठूलो भ्रम छ । उनीहरू भन्थे, रियलले च्याम्पियन्स लिग जित्ने हो भने सिजको अन्त्यतिर चार खेल राम्रो खेले पुग्छ । यो नै टिमको प्रमुख समस्या हो अहिले । बालाग भन्छन्, ‘युरोपेली फुटबल इतिहासमै रियलले आफ्नै घरमा यति खराब हार बेहोरेको मलाई थाहा छैन । त्यसैले त दर्शकदीर्घामा समर्थकहरूको निराशा प्रस्ट देखिन्थ्यो । रियल च्याम्पियन्स लिगबाट यसपल्ट यसरी बाहिरियो कि कसैले त्यसबाट निस्केको आवाज पनि सुन्न सकेनन् ।’
उनको थपेका छन्, ‘अहिले टिमले फुटबल बजारमा पहिले जस्तो प्रतिस्पर्धा गर्न सक्दैन । सन् २०१४ यता टिममा ठू–ठूला स्टार आउन छाडेका छन् । त्यसको नतिजा टिम झन् झन् कमजोर बनेको छ । टिममा ठूला स्टार छैनन् । अब कसले भन्नसक्छ, रियल स्टार खेलाडीको टिम हो भनेर ? खासमा सबै निराश छन् ।’ सायद रियलको स्थिति अब ढिलोचाँडो यस्तै हुनेछ भनेर जिनेदिन जिदानले अनुमान गरेका थिए, त्यसैले अप्रत्यासित रूपमा छाडे ।
पूर्व प्रशिक्षक तथा अहिले खेलपण्डित बनेका डेविड मोयस पनि मान्छन्, ‘केही नभए पनि अहिलेका लागि रियलमा राम्रा दिन सकिएका छन् । अयाक्ससँग हारेसँगै रियलमा एक युगको अन्त्य भएको छ । अब सबैको नजर हुनेछ, कहिले के हुने हो ? रोनाल्डोले छाडेयता उनको स्थान अर्को कोही न कोही खेलाडीले लिने विश्वास थियो तर त्यस्तो केही पनि भएन । अर्को सिजनसम्म क्लबमै पूर्णतः परिवर्तन भयो भने म आश्चर्यमा पर्ने छैन ।’
– बीबीसी