बेलायती विभेदको पीडामा लाहुरे पण्डित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बेलायती विभेदले गोर्खाली सेना पीडित, सेनाका पण्डित झन् पीडित । रणभूमिमा खटिएपछि निश्चित छैन कि पण्डितले मार्ने वा मारिने अवस्थाबाट गुज्रिनु नपरोस् ।

त्यसो त उनीहरुलाई गोर्खाली फौजको मुकाममा रहने मठमन्दीरको पूजा र धार्मिक कार्यका लागि भर्ती गरियो । तर युद्ध हो, यस्तै काममा भर्ती भएका कयौं पण्डितहरु बेलायत संलग्न युद्धहरुमा मारिए । फौजकै एक अंगका रुपमा रणभूमिमा खटिएपछि निश्चित छैन कि उसले मार्ने वा मारिने अवस्थाबाट गुज्रिनु नपरोस् ।

गोर्खा भूतपुर्व सैनिक संघ गेसोका उपाध्यक्ष मणि किराँत बान्तवाको यो भनाइले गोर्खाली सेनालाई बेलायतले गरेको अर्को विभेदको पाटो उघारी दिएको छ ।

आफूले बगाएको रगतबापत समान व्यवहारका लागि बेलायतसँगै लडिरहेका ब्रिटिस गोर्खाली सेनामध्ये पुरोहितका रुपमा भर्ना भएका गोर्खाली सेनाहरु बेलायतीले आफ्ना नागरिक र गोर्खाली सेनाबीच गरेको थप भेदभावको शिकार भएको पाइएको छ ।
सैनिक र अन्यदर्जाका गोर्खा सेनाहरुले बेलायती नागरिकको तुलनामा निकै कम पेन्सन लगायतका सुविधा पाइरहेका छन् र उनीहरुको आन्दोलन समान हैसियतको समान पारिश्रमिक र पेन्सनमा केन्द्रित छ । तर पण्डितका रुपमा भर्ती भएका र जीवनको उर्जाशील समय बेलायतकै लागि बिताएका गोर्खाली सेनालाई पेन्सनलगायत का कुनै पनि आर्थिक सुविधा दिएइको छैन ।
“उनीहरु सरह बेलायती सेनामा काम गर्ने बेलायती पादरील सयौं पाउण्ड पेन्सनको रुपमा बुझि रहेका बेला उनीहरुले एक पैसा पनि पाएका छैनन् र त्यति मात्र होइन उनीहरुलाई त्यहाँ वर्षौ काम बापतको चिनो समेत छैन”, बेलायत गोर्खा सेनाकै विषयमा विशेषज्ञता हासिल गर्नुभएका चन्द्र लक्सम्बा भन्नुहुन्छ ।
सन् २००९ अघि सेवानिवृत्त भएका पण्डितहरु यस्तो अवस्थामा रहेको उहाँको भनाई छ । गोर्खाली सेनाबाट गरिएको लामो आन्दोलनको फलस्वरुप २००९ पछि सेवानिवृत्त भएका पण्डितहरुले भने बेलायती सरह नै पेन्सन पाउने अवस्था छ ।
यसै गरी पेन्सन पाउने अवस्थाबाट बन्चित गोरखाली सैनिकका सन्तान हुनुहुन्छ, राजनीतिक विश्लेषक हरि शर्मा । सन् १९९२ मा सेवा निवृत्त भएका पिता विष्णुदत्त शर्मा मात्र होइन, आफ्ना मामा र काका पनि गोरखा सेनामा पण्डितकै रुपमा सेवा गरेको पारिवारिक पृष्ठभूमि उहाँको छ । ‘सुरु देखिनै परिवार लैजान पाउने, सैन्य कार्यमा नहुने र दान दक्षिणासमेत पाउने भएका कारण पण्डितहरुलाई पेन्सनसम्मको व्यवस्था नगरे पनि हुन्छ भन्ने सोचले काम गरेको देखिन्छ ’, उहाँ भन्नुहुन्छ । तर त्यसो गर्दा कर्मचारीकै रुपमा सेवा गरेर निवृत्त भएपछि अरु सरह पण्डितलाई पनि पेन्सनको व्यवस्था गरिनुपर्छ भन्ने समन्यायिक मान्यताप्रति भने आँखा चिम्लिएको देखिने धारणा पनि उहाँको छ ।

बेलायती गोर्खा सैनिक पण्डित विष्णुदत्त शर्माका सुपुत्र एवं राजनीतिक विश्लेषक हरि शर्मा

‘सुरु देखिनै परिवार लैजान पाउने, सैन्य कार्यमा नहुने र दान दक्षिणासमेत पाउने भएका कारण पण्डितहरुलाई पेन्सनसम्मको व्यवस्था नगरे पनि हुन्छ भन्ने सोचले काम गरेको देखिन्छ ’,

लक्सम्बाका अनुसार उनीहरुलाई सेनाकै पोशक लगाएर उनीहरु सरह नै युद्ध भूमिमा तैनाथ गराउने गरिएको थियो । त्यस क्रममा थुपै पण्डित गोरखा सैनिकहरुको मृत्य भएको समेत उहाँ बताउनुहुन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा कति गोर्खा सैनिक मारिए । यसको कुनै लेखाजोखा छैन । तीमध्ये दर्जनौंको संख्यामा पण्डितहरु पनि छन् । जसका बारेमा कुनै खोज खबर छैन र बेलायतति सबै उधिनेर खोज्न पनि चाहँदैन किनकी ठूलो आर्थिक दायित्वमा फसिने डर उसलाई छ ।
१९४७ मा जब गोर्खा भर्तीका लागि नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सन्धी भयो, त्यतिबेला देखि नै गोर्खा भर्तिमा पण्डितहरुलाई लिन थालिएको लक्सम्बा बताउनुहुन्छ ।त्यतिबेला नेपालको तर्फबाट हस्ताक्षर गर्ने श्री ३ पद्मशमशेरले बेलायती सेनाको हरेक बेलायती रेजिमेन्टमा पादरी भए जस्तै गोर्खा फौजमा एउटा मन्दिर हुनै पर्ने र पुजारी वा पण्डित पनि हुनै पर्ने अडान राखेपछि त्यस्तो व्यवस्था गरिएको पनि उहाँले बताउनु भयो ।

बेलायती गोर्खा सैनिक विज्ञ चन्द्र लक्सम्बा

पण्डितहरुलाई सेनाकै पोशक लगाएर उनीहरु सरह नै युद्ध भूमिमा तैनाथ गराउने गरिएको थियो । त्यस क्रममा थुपै पण्डित गोरखा सैनिकहरुको मृत्य भएको समेत  छ।

उनीहरुको काम फौजले स्थापनागर्ने देवस्थल वा शक्तिपीठको पूजा गर्नु मात्र नभएर फौजको आत्मबल बढाउने धार्मिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गर्नु र फौजमा मर्दा पर्दा जातिअनुसारको संस्कार गर्नु समेत हुन्छ । प्रत्येक लडाइँमा जानुपुर्व सपथ गराउने काम पनि यिनै पण्डितहरुको हुन्छ ।
“त्यो व्यवस्था अहिले पनि कायम छ, अहिले त लामा लगायत जाति अनुरुपका पुरोहितको विविधता पनि बेलायती गोर्खा सेनामा देख्न पाइन्छ । भर्नामा धार्मिक कार्यका लागि भनिए पनि सैनिक सेवामै भएपछि उनीहरुको दैनिकी र आधारभूत तालिम सैनिककै जस्तो हुने गेसो उपाध्यक्ष बान्तवा बताउनु हुन्छ । “लडाँई नै परेको अवस्थामा पण्डितले पनि बन्दुक बोक्नु पर्ने वा पण्डित नै पनि मारिने लगायतको जस्तो सुकै अवस्था हुन सक्छ”, उहाँ थप्नुहुन्छ ।
त्यतिबेला पण्डितका रुपमा भर्ना भएर पेन्सन नपाएकाहरु मध्ये अहिले १३ जना गेसो सँगैको सहकार्यमा छन् । तिनमा तुलसीप्रसाद थपलिया, हरिप्रसाद निरौला, भवानीशंकर उपाध्याय, विष्णुदत्त आचार्य शर्मा, रविरमण आचार्य शर्मा, टीकाप्रसाद शर्मा, मुकुन्द ज्ञवाली, ऋषिराम शर्मा, बाबुराम दाहाल, चण्डी कोइराला, प्रेमप्रसाद गैरे, शिवचन्द्र निरौला र आत्माराम दाहाल बेलायती गोर्खा सेनामा भर्ना भएका थिए ।
ति मध्ये तुलसीप्रसाद थपलियालाई सबै पण्डितको कमान्डरका रुपमा क्याप्टेन दर्जा दिइएको थियो भन्ने अन्यलाई लेप्टिनेन्ट दर्जा दिइएको थियो । यसरी बेलायती पक्षले दर्जा दिएर पनि पेन्सन भने नदिइनुको कारणमा उनीहरुले करारमा नियुक्ति पाएको कुरालाई अघि सार्दै आएको छ । “तर अरु सैन्य पनि त्यसै गरी करारमै गएका हुन् । अरुलाई दिने र उनीहरुलाई मात्र नदिने भन्ने कुरा न्यायोचित हुँदैन”, लक्सम्बाको भनाई छ ।
यसअघि पण्डितहरुलाई परेको अन्याय मुखर भएर नउठनुमा उनीहरुको कम संख्या र पढाई लेखाइको जीवन वृत्तिका कारण नेपालमै राम्रो अवसर पाउने जाति हुनु पनि एक रहेको विश्लेशक शर्मा बताउनुहुन्छ । ‘ठूलो संख्यामा रहेका गोर्खालीको माग पूरा गर्न नै आन्दोलन गर्नुपरेको बेला थोरै संख्याका पण्डितहरुको कुरो त्यसै ओझेलमा परेको थियो । हामी सन्तानहरुले पनि त्यसमा खासै वास्ता गरेनौं । तर वयोवृद्ध उमेरका हाम्रा अभिभावकहरुले भने आफू विभेदमा परेको कुरालाई लिएर खिन्नता व्यक्त गरिरहे ।’, उहाँको भनाई छ ।
गोर्खाली सेनाका पण्डित सम्बन्धी माग हाल गेसोले बेलायत सरकारसँग राखेको १३ बुँदे मागभित्र परेको छ । यसरी निवृत्त भएका मध्येकै एक हुनुहुन्छ, बेलायती गोर्खा सेनाका अवकास प्राप्त पण्डित भवानीशंकर उपाध्याय ।

बेलायती गोर्खा सेनामा पण्डितका रुपमा कार्यरत रहँदाका भवानीशंकर उपाध्याय पत्नीसहित
तस्विर सौजन्यः भवानीशंकर सुपुत्र दामोदर उपाध्याय

अहिले ८४ वर्षमा उमेरमा हिँडदै गर्नुभएका उपाध्यायले २६ वर्षसम्म आफ्नो उर्जाशील दिनहरु बेलायती गोर्खा सेनामा खर्चिनुभएको थियो । त्यसैको कदर स्वरुप नै सहि जीवनको उत्तरार्धमा एक रुपैयाँ भए पनि बेलायत सरकारले पेन्सन स्वरुप देओस् भन्ने चाहना उहाँको भनाई छोरा दामोदरको छ । सन् १९७१ मा गोरखा रेजिेमेन्ट (सेभेन जिआर)मा कार्यरत भवानीशंकर उपाध्यायको चर्चा फकल्याण्ड युद्धपछि लेखिएको एक पुस्तकमा समेत गरिएको छ । उपाध्यायले सेभेन जिआरको सेवा सकिएपछि पनि नौ वर्षसम्म ब्रुनाइको गोर्खा रिजर्भ युनिट मा नौ वर्ष काम गर्नुभएको थियो ।
लोकतन्त्र र मानवअधिकारको जननी भनिने देश बेलायतले एउटै स्तरमा रगत बगाउने आफ्ना देशका नागरिक लाई एक थरी र अर्काको देशका नागरिकलाई अर्कै थरी व्यवहार गरेको छ । यसलाई अनेक तर्क वितर्क गरेर ढाक छोप गर्ने प्रयास भने बेलायतले नगरेको होइन । गेसो लगायतका गोर्खा सैनिकका हितमा कार्यरत संस्थासँग पटक पटक सहमति गरेर पनि यो वा त्यो वहानामा टार्ने काम विगतमा थुपै पटक भएको लक्सम्बा बताउनु हुन्छ ।
पछिल्लो पटक बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरको नेपाल भ्रमणपछि गोर्खाली सैनिकको भावना र नेपाल सरकारको धारणाप्रति आँखा चिम्लिएर एकतर्फि रुपमा गरिएका केही घोषणाले फेरि एक पटक गोर्खाली सैनिकलाई आन्दोलित तुल्याएको छ ।