नगरपालिका बनेको २३ औं वार्षिकोत्सव मूर्तिहरु कुँदेर मनाउँदैछ कीर्तिपुर
राजधानीको मात्र पाँच किलो मिटर दूरीका. दक्षिण पश्चिममा अवस्थित कीर्तिपुर क्षेत्रका तत्कालीन गाउँ विकास समितिहरु लायकु, चिठूविहार, पालिफल, विष्णुदेवी, बालकुमारी, चोभार, चम्पादेवी र बाहिरी गाउँलाई समेटेर निर्माण भएको थियो कीर्तिपुर नगरपालिका ।
२०५३ साल चैत १४ गते घोषणा भएको उक्त अवसरलाई नगरपालिका स्थापना दिवसका रुपमा यसवर्ष भव्य रुपले मनाउने तयारी नगरपालिकाको छ । यसै बारे जानकारी दिन बुधबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख रमेश महर्जनले कीर्तिपुरको सौन्दर्य र ऐतिहासिकतालाई संसारभर फैलाउने एउटा कदमको रुपमा महोत्सव आयोजना गरिन लागेको बताउनु भयो । उहाँका अनुसार कीर्तिपुरमा कीर्तिपुर किल्ला तथा आसपासका अनगिन्ती गरिमामयी इतिहास, संस्कृति, सम्पदा र नीधिहरुलाई पर्यावरणमैत्री कलासँगै सजाएर राष्ट्रियकरण तथा अन्तराष्ट्रियकरण गरि मुलुकको समग्र पर्यटन उद्योग विस्तार तथा आर्थिक समृद्धिको अभियानमा आम सरोकारवालालाई समेटेर सहयोग गर्ने उद्देश्य महोत्सवको रहेको जानकारी पनि प्रमुख महर्जनले दिनुभयो ।
यसै गरी कीर्तिपुरलाई प्राकृतिक, कलात्मक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तब्य, यसै सम्बन्धी अध्ययन अनुसन्धान स्थल भावी पुस्ताको धरोहर नमुना स्थल, पर्यटनमैत्री युद्ध स्मारक पार्कको निर्माण गर्ने उद्देश्य पनि महोत्वसले राखेको छ । नेपाली मूर्तिकलालाई पर्यावरण संरक्षण तथा पर्यटकीय विकाससँग जोड्ेर ऐतिहासिक कला, साहित्य र संस्कृतिको संरक्षणका साथै आर्थिक उन्नती र सास्कृतिक पहिचान स्थापित गर्ने उद्देश्उ पनि महोत्वको रहेको उहाँले बताउनु भयो ।
युद्ध स्मारक पार्कका लागि आयोजना हुने मूर्तिकला कार्यशालामा आधुनिक मूर्तिकला विषयमा क्रियाशील राष्ट्रिय स्तरमा ख्याति कमाइसकेका २८ जना मूर्तिकारहरु सहभागी हुने र कार्यशाला १५ दिनसम्म निरन्तर चलिरहने जानकारी पनि कार्यक्रममा दिइयो ।
ऐतिहासिक र राजनैतिक महत्वका अलावा प्राचीनकालमा पद्मकाष्ठ गिरी नामले चिनिने कीर्तिपुर डाँडासहिथतको कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४.७६ वर्ग कि.मि. रहेको छ । समुद्र सतहदेखि सालाखाला यस नगरको उच्चाई १२८४ मिटरको समथर भूभागबाट १५२४ मिटर सम्मको उच्च भूूभागमा फैलिएको यस नगरपालिकामा ट्याड्ला फाँट, टौदह फाँट र पागा फाँट जस्ता समतल भूभाग र चम्पादवी र भस्मासुर डाँडा जस्ता उच्च भूभाग समेत रहेका छन् ।

तस्विर ः विकिपेडिया
कीर्तिपुरको पुरानो बस्ती र चोभारमा प्राचीन सम्पदा तथा देवदेवालका साथै थुप्रै कुवा, पोखरी, ढुङ्गेधारा, गुम्बा, मठमन्दिर, चैत्य र भौगोलिक तथा प्राकृतिक सौन्दयले सुसज्जित प्राचीनतम शहर कीर्तिपुरको केन्द्र भूभाग भनेको कीर्तिपुर किल्ला हो । जहाँ नेपाल सम्वत २१९–२४६ मा निर्मित बाग भैरव मन्दिर,मध्यकालीन चिलन्चो स्तुपा र उमामहेश्वर मन्दिर छन् । कीर्तिपुर किल्लाको पूर्वमा कीर्ति विहारबाट थप पूर्वमा चोभार, टौदह आदि अति महत्वपूर्ण ऐतिहासिक पर्यटकीय स्थलहरु छन् । दक्षिणमा दक्षिणकाली मन्दिर, फर्पिङका गुम्बाहरु, मठमन्दिरदेखि चम्पादेवी मन्दिर, पुष्पलाल प्रतिष्ठान पार्क, राष्ट्रिय जातीय सङ्ग्रहालयका लागि प्रस्तावित वनक्षेत्र लगायत थुप्रै महत्वपूर्ण स्थलहरु छन् ।
प्रतिक्रिया